रास्वपा पर्साको जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा पन्त निर्वाचित
बीरगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा हरि पन्त निर्वाचित हुनु भएको छ ।

सोमबार मध्यराति सार्वजनिक गरिएको मतपरिणाम अनुसार रास्वपा पर्साको जिल्ला सभापति पदमा बुद्धिप्रसाद पन्त (हरि पन्त) दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो । रास्वपा पर्साका निर्वाचन संयोजक डा. नन्दन यादवका अनुसार खसेको कुल मतमध्ये विजयी पन्तले १६६ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी सुशील साह कानुले ११८ मत प्राप्त गर्नुभयो । सभापतिमा विजयी पन्त र कानुबिच ४८ मतको अन्तर रहेको छ ।
सभापतिसँगै कार्यसमितिका अन्य मुख्य पदाधिकारी पदहरूमा पनि पन्त प्यानलकै उम्मेदवारहरू विजयी हुनु भएको छ । कार्यसमितिको उपसभापति पदमा १६२ मतसहित दिलिपकुमार कुर्मी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रणदिप श्रीवास्तवले ११४ मत प्राप्त गर्नुभएको थियो ।
यसै गरी, पार्टीको जिल्ला सचिव पदमा सुदिशकुमार प्रजापति १६० मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी शिवकुमार साहले ११६ मत मात्र प्राप्त गर्नुभएको छ । यसैगरी सहसचिव पदमा भने १४९ मतका साथ कृष्णा पासवान विजयी हुनु भएको छ । सहसचिवका अर्का उम्मेदवार निरजकुमार साहले ११३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट पदाधिकारीबाहेक पाँच जना जिल्ला कार्यसमिति सदस्यहरू समेत निर्वाचित हुनु भएको छ । सदस्य पदका लागि भएको मतदानबाट तुलसा पौडेल अधिकारी १६० मत, प्रियंका कुमारी कुर्मी १५५ मत, कामोध्या चौधरी १३३ मत, पूर्णबहादुर सापकोटा १३१ मत र शशीदेवी थरुनी १०० मत प्राप्त गरी विजयी हुनु भएको छ ।
यसअघि शनिबार वीरगञ्जमा आयोजित जिल्ला अधिवेशनका क्रममा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबिच विवाद र मर्यादा बाहिर गएर कुटाकुट भएपछि निर्वाचन प्रक्रिया एकाएक स्थगित गरिएको थियो । उक्त अप्रिय घटनापछि निर्वाचन संयोजक डा. यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै दिउँसो ३ बजेदेखि वीरगञ्जको ‘क्लासिक ब्याङ्क्वेट’ मा कडा सुरक्षा घेराभित्र निर्वाचन गराउने नयाँ कार्यतालिका सार्वजनिक गर्नुभएको थियो ।
निर्वाचन सम्पन्न भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै निर्वाचन संयोजक डा. यादवले शनिवारको तितो अनुभवलाई बिर्सिँदै नयाँ नेतृत्व चयनका लागि भएको सम्पूर्ण चुनावी प्रक्रिया अत्यन्तै शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्