तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा प्याडको हाहाकार, गाउँपालिकाको स्टोरमा भने म्याद गुज्रिएका प्याडको थुप्रो

बैतडी। बैतडीको शिवनाथ गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीहरू लामो समयदेखि सेनेटरी प्याडको चरम अभाव झेलिरहेका छन्।

विद्यालयमा प्याड अभाव हुँदा महिनावारीका समयमा आवश्यक सामग्री नपाएको गुनासो बढिरहेका बेला गाउँपालिकाले स्टोरमा रहेका प्याड विद्यालयमा वितरण गर्नुको सट्टा जथाभाबी विसर्जन गरेको तथ्य बाहिर आएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा करिब १५ लाख रुपैयाँ खर्च गरेर खरिद गरेका सेनेटरी प्याड विद्यालयमा नियमित रूपमा उपलब्ध गराउन सकेको छैन । विद्यालयका शिक्षकहरूका अनुसार ती प्याड शैक्षिक सत्र २०८१ मा एकपटक ढुवानी गरी विद्यालयमा पुर्‍याइए पनि त्यसपछि दुई वर्षसम्म पर्याप्त आपूर्ति हुन सकेन।

शैक्षिक सत्र २०८२ मा समेत पुरानै मौज्दातबाट केही प्याड वितरण गरिएको थियो। ती प्याड माघ महिनासम्म मात्रै पुगेका थिए । त्यसयता गाउँपालिकाका अधिकांश विद्यालयमा सेनेटरी प्याड उपलब्ध नभएको पाइएको छ।

सारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह मंगोलाले विद्यालयमा प्याड सकिएको बताउनुभयो । “केही महिना भयो, प्याड सकिएका छन्, पालिकामा जानकारी गराएका छौँ, अब दिने तयारी छ भन्ने सुनेको छु,” प्रअ मंगोलाले भन्नुभयो ।  

यस्तै चन्द्रदेवल माध्यमिक विद्यालयकी शिक्षिका मिना साउँदका अनुसार करिब तीन महिनाअघि नै विद्यालयमा प्याड सकिएपछि महिनावारी भएका किशोरीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउन नसकिएको हो।

“महिनावारी भएको बेला प्याड माग्न आउने छात्रालाई रित्तै फर्काउनुपरेको छ, केही छात्राहरु प्याड नपाएपछि घर फर्किनुपर्ने अवस्था पनि आएको छ,” शिक्षिका साउँदले बताउनुभयो । 

विद्यालयहरूमा प्याड अभाव भइरहेका बेला गाउँपालिकाले बाँकी रहेका प्याड विद्यालयमा नपठाई स्टोरमै राखेको र म्याद गुज्रिएपछि फाल्ने गरेको आरोप लागेको छ। विद्यालय तथा गाउँपालिकाको स्टोरमा दुई वर्षअघि खरिद गरिएका प्याडहरूको म्याद सकिएपछि ती सामग्री व्यवस्थापन नगरी विसर्जन गरिएको पाइएको हो।

स्थानीय स्रोतका अनुसार २०८२ चैत २७ गते गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरका लागि कोठा खाली गर्ने क्रममा स्टोरमा रहेका करिब ३०० भन्दा बढी प्याड गाउँपालिका परिसरभित्रकै फोहोर व्यवस्थापन क्षेत्रमै फालिएको थियो।

विद्यालयमा अत्यावश्यक सामग्रीको अभाव भइरहेका बेला गाउँपालिकाले मौज्दात सामग्रीको समयमै वितरण, अनुगमन र व्यवस्थापन गर्न नसक्दा सरकारी स्रोतको दुरुपयोग भएको भन्दै प्रश्न उठेको छ। किशोरीहरूको स्वास्थ्य तथा विद्यालय उपस्थितिसँग प्रत्यक्ष सम्बन्धित सामग्री समयमै उपलब्ध गराउन नसक्नु स्थानीय सरकारको जिम्मेवारी र कार्यसम्पादनमाथिको गम्भीर कमजोरीका रूपमा हेरिएको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख  दिनेश साउँदले विगतमा खरिद गरिएका प्याड किन र कसरी विसर्जन गरियो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । “स्टोरमा राखिएका प्याड किन फालिए, त्यसबारे मलाई जानकारी छैन,” उहाँले भन्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यले म्याद नाघेका प्याडहरु स्टोरमा रहेकाले फालिएको जानकारी प्राप्त भएको बताउनुभयो । “मैले सेनीटरी प्याड फालेको विषयमा बुझेको छु, दुईतीन वर्षपहिले नै खरिद गरिएका रहेछन्, अब श्रोत भएपछि विद्यालयलाई उपलब्ध गराउनु पर्ला, त्यसबारे बुझ्दै छु,” प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो । 

विद्यालयमा सेनेटरी प्याडको नियमित आपूर्ति सुनिश्चित गर्न गाउँपालिकाले वार्षिक आवश्यकता आकलन, समयमै वितरण, मौज्दात व्यवस्थापन र म्याद अनुगमन प्रणाली प्रभावकारी बनाउन आवश्यक रहेको सरोकारवाला प्रतिनिधि बताउँछन् । खरिद गरिएका सामग्री प्रयोग नै नहुने अवस्था सिर्जना हुनु र पछि फालिनु सार्वजनिक स्रोतको दुरुपयोग भएकाले यसबारे छानबिन गरी जिम्मेवार पक्षको जबाफदेहिता सुनिश्चित गर्नुपर्ने देखिएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button