भारतीय माछाको अनधिकृत आयातमा रोक: बारा र पर्साका माछा किसानमा उत्साह
बीरगंज। खुला सीमाको कारण भारतबाट अनधिकृत रूपमा आयात भइरहेको माछामाथि रोक लगाइएपछि बारा, पर्साका माछा किसान उत्साहित भएका छन् ।

नेपाली माछा किसानहरूले लागत बढी र आम्दानी कम हुने तथा भारतीय माछासँग प्रतिस्पर्धा गर्न नसक्ने गुनासो गर्दै आएका थिए ।
सरकारले हाल भारतबाट हुने माछा आयातमा कडाइ गर्दै नष्ट गर्न थालेपछि बारा,पर्साका स्थानीय किसानमा उत्साह बढेको बारा सिम्रौनगढका माछा किसान प्रेम यादवले बताउनुभयो ।
उहाँका अनुसार सीमापारिबाट कम लागतमा आउने भारतीय माछासँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको अवस्थामा नियन्त्रणले राहत मिलेको छ ।
यसैबीच मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले कृषकका समस्या, उत्पादन अवस्था र कृषि क्षेत्रमा देखिएको रोजगारीका सम्भावनाका बारेमा प्रदेश सरकारले अध्ययन गरिरहेको बताउँदै कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र कृषकको आय वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
पर्सा पकाहामैनपरिका माछा किसान राम नारायण पटेलले सीमामा कडाइपछि नेपाली माछा किसानमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै सरकारी सहयोग र लगानी आवश्यक रहेको बताउनुभयो।







प्रतिक्रिया राख्नुहोस्