कृषि क्षेत्र नै देशको समृद्धिको प्रमुख आधारशिला: राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्नुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो ।

“किसानको मुस्कानमा राष्ट्रको खुशी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो ।
मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उहाँले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाकारुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “यसको लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायहरू एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याउनुभयो । “युवा शक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसको लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण तथा आधुनिकीकरण आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
राष्ट्र निर्माणको आधारस्तम्भ तथा राष्ट्रको समृद्धिका संवाहक कृषकहरूलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उहाँको भनाई थियो । साथै, कृषकको मेहनत, सीप र पौरखले देश समृद्ध बन्छ, यो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमले कृषि पेसालाई सम्मानित पेशाकारुपमा स्थापित गर्न योगदान पु¥याएको उहाँले बताउनुभयो । “कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सके मात्र देश निर्माणको सपना साकार हुने मैले ठानेको छु”, उहाँले भन्नुभयो ।
उहाँले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि नै भएको र कृषि, जलस्रोत पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार हो भन्नुभयो ।
राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा युवा जनशक्तिलाई नेपालमै रोजगारीको अवसर सृजना गर्ने क्षेत्र भनेकै कृषि भएको र कृषि नै उद्योगको कच्चा पदार्थको स्रोत भएकाले यो क्षेत्रको विकास गर्न राज्यले योजनाबद्धरुपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ भन्नुभयो । उहाँले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सोह्रौँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्दछ भन्नुभयो । “यसमा लगानीको सुनिश्चितता गर्न सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ, मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता तथा योजनाविद् र सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूले सिकेको सिप प्रयोग गर्ने गरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्दछ भन्दै उहाँले कृषकको उपजहरूको बजारीकरण, समयमानै बीउविजन र मलको आपूर्ति, कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नवीनतम औजार उपकरणको पहिचान र व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषयहरू भएको उल्लेख गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना कृषकलाई जनही दुई लाख रुपैयाँ, प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्