सुशासन र समृद्धिमार्फत गणतन्त्रलाई थप जनमुखी बनाउनुपर्छ: मुख्यमन्त्री पाण्डे
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास, रोजगारी, सामाजिक न्याय र आर्थिक समृद्धिमार्फत गणतन्त्रलाई थप सुदृढ र प्रभावकारी तथा जनमुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

गणतन्त्र दिवस २०८३ का अवसरमा प्रदेश सरकारले आज (शुक्रबार) पोखरामा आयोजना गरेको समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री पाण्डेले नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई अधिकार, स्वतन्त्रता र समावेशी शासन व्यवस्थाको अनुभूति दिलाएको उल्लेख गर्दै उहाँले अब जनअपेक्षाअनुसार सुशासन र विकासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । संघीय शासन व्यवस्थाको अभ्यासमा गण्डकी प्रदेश सरकारले विकास, नीति, पारदर्शिता र जनविश्वास सुदृढ गर्ने काम गरिरहेको दाबी गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो “नागरिकले देख्ने, सुन्ने र महसुस गर्ने गरी प्रदेश सरकारले आफूलाई स्थापित गर्दै आएको छ, प्रदेशको खर्च कटौती कर्मचारी व्यवस्थापनको सुरुवात हामीले केही समय अघिबाटै सुरुवात गरेका थियौँ ।”
देशमा देखिएका समस्या समाधानका लागि नकारात्मकता भन्दा सकारात्मक सोच, आत्मविश्वास र सामूहिक प्रयत्न आवश्यक रहेको उहाँले जनाउनुभयो । मुख्यमन्त्री पाण्डेले संविधानले व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ र पर्यावरणजस्ता मौलिक हकलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न गणतन्त्र दिवसले सबैमा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा बेपत्ता, घाइते तथा अपाङ्गता भएका नागरिकहरूको योगदानको प्रशंसा गर्नुभयो ।
गण्डकी प्रदेश सरकारको आयोजनामा सम्पन्न गणतन्त्र दिवस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय र सहभागीप्रति आभार व्यक्त गर्दै उहाँले गणतन्त्र दिवस २०८३ ले राष्ट्रिय एकता, सकारात्मक सोच र समृद्ध नेपाल निर्माणका लागि नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु नै गणतन्त्रको वास्तविक कार्यभार भएको उल्लेख गर्नुभयो ।
यसैबिच, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त कार्यक्रमको उद्घाटन गर्दै गणतन्त्र सक्षम र सबल नभएसम्म आम जनताको आधारभूत आवश्यकता पनि पूरा नहुने बताउनु भयो । उक्त कार्यक्रममा पूर्व मुख्यमन्त्री खगराज अधिकारी, नेकपाका प्रमुख प्रतिपक्ष दलका नेता हरि बहादुर चुमान, मन्त्री, सांसद सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्