तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि ठोरी गाउँपालिकालाई 

वीरगञ्ज । वीरगन्जको नारायणी रङ्गशालामा सम्पन्न १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि  ठोरी गाउँपालिकाले चुमेको छ । 

पर्सा जिल्ला खेलकुद विकास समितिको आयोजनामा वीरगन्जस्थित नारायणी रङ्गशालामा शनिबार देखी आयोजित प्रतियोगितामा महिला तथा पुरुषतर्फ दौड, कबड्डी र भलिबलका खेल समावेश गरिएको थियो ।

प्रतियोगिताका मुख्य निर्णायक विश्वेश्वर पटेलका अनुसार ठोरी गाउँपालिकाले १५ स्वर्ण, नौ रजत र चार कांस्य पदक जित्दै प्रथम हुनुको साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि हात पारेको छ । त्यस्तै, नौ स्वर्ण, १० रजत र आठ कांस्य पदकसहित पर्सागढी नगरपालिका दोस्रोमा तथा चार स्वर्ण, पाँच रजत र नौ कांस्य पदकसहित वीरगन्ज महानगरपालिका तेस्रो स्थान प्राप्त गर्न सफल भए ।

प्रतियोगितामा सखुवाप्रसौनी गाउँपालिकाले एक स्वर्ण, तीन रजत र चार कांस्य पदक जित्दा धोबिनी गाउँपालिकाले एक स्वर्ण पदक प्राप्त गर्‍यो । कालिकामाई गाउँपालिकाले दुई रजत पदकमै चित्त बुझाएको छ ।

प्रतियोगितामा पुरुष कबड्डी तर्फ वीरगञ्ज महानगरपालिका प्रथम हुँदा महिलातर्फ पर्सागढी नगरपालिका विजेता बन्यो । भलिबलमा पुरुषतर्फ धोबिनी गाउँपालिका तथा महिलातर्फ पर्सागढी नगरपालिका प्रथम भएका छन् ।

पर्सा जिल्लाका १४ पालिकामध्ये वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी, सखुवाप्रसौनी, कालिकामाई र धोबिनी गाउँपालिका गरी ६ वटा पालिकाले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button