तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश र स्थानीयतहको सहकार्यमा विद्यालयहरूको स्तरोन्नति गरिने: मुख्यमन्त्री कार्की

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा विद्यालयहरूको स्तरोन्नति गरिने बताउनुभएको छ।

आज शुक्रवार धरान उपमहानगरपालिका–८ स्थित श्री सहिद स्मृति माध्यमिक विद्यालय को ६८औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा विद्यालयहरूको स्तरोन्नति गरिने बताउनुभएको  हाे।

करिब ६८ वर्षअघि स्थापना भएको उक्त विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कार्कीले विद्यालय रहेको क्षेत्र आफ्नो मावली घर तथा परिवारसँग जोडिएको स्थान भएकाले विद्यालयप्रति विशेष आत्मीयता रहेको कार्कीले जिकिर गर्नुभयो ।

उहाँले शिक्षा र संस्कृतिको केन्द्रका रूपमा रहेको विद्यालय विभिन्न कारणले पछाडि परेको भन्दै यसको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै धरानमा खानेपानी, स्वास्थ्य, यातायात तथा शिक्षालगायत क्षेत्रमा देखिएका समस्याको समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबिच सहकार्य बढाएर शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थी सङ्ख्या वृद्धि, शिक्षक दरबन्दी व्यवस्थापन, पूर्वाधार विकास तथा प्रविधिमैत्री शिक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो  ।

मुख्यमन्त्री कार्कीले शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालय स्तरबाट पहल भइरहेको जानकारी दिँदै साना तथा मझौला उद्यम, युवा स्वरोजगार, सूचना प्रविधि तथा यातायात क्षेत्रसँग सम्बन्धित कार्यक्रममार्फत धरानको समग्र विकासमा कोशी प्रदेश सरकारको सहयोग रहने  बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button