तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ५ सय बढी बालबालिका अझै विद्यालय बाहिर, अनिवार्य शिक्षा कार्यान्वयनमा चुनौती

सल्यान। सल्यानमा आधारभूत तहका ५ सय ७७ बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेको पाइएको । 

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि आयोजित सहजीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । 

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका अनुसार  जिल्लाभर कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने उमेर समूहका ५ सय ७७ जना बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । अघिल्ला वर्षको तुलनामा विद्यालय छाड्ने (ड्रपआउट) बालबालिकाको संख्या घट्दै गए पनि हालको तथ्याङ्क अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

इकाई प्रमुख शेरबहादुर रोकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै विद्यालय बाहिर रहेका बालबालिकाको संख्या घटाउन आवश्यक रहेको बताउनुभयो ।  उहाँले बालबालिकाको पहिचान गरी अभिभावकसँग समन्वय गरेर स्थानीय तहहरूले भर्ना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकालाई विद्यालयभित्र कसरी ल्याउने, भनौँ अभियानलाई अझ प्रभावकारी कसरी बनाउने र आगामी दिनमा शिक्षाको पहुँच विस्तारका लागि के–कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।  उहाँले भन्नुभयो । 

उहाँका अनुसार गरिबी, अभिभावकको चेतनाको कमी, बसाइँसराइ, बालश्रम तथा दुर्गम बस्तीका कारण अझै पनि केही बालबालिका विद्यालय बाहिर रहने अवस्था रहेको छ । यस्ता बालबालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय तह, विद्यालय र अभिभावकबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button