तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानकाे कुमाख गाउँपालिकाका गाई भैँसीमा खोरेत रोगसँग मिल्ने संक्रमण फैलियो 

सल्यान । सल्यानको कुमाख गाउँपालिकामा खोरेत रोगसँग मिल्ने सङ्क्रमणले घरपालुवा पशु बिरामी पर्न थालेका छन् । कुमाख गाउँपालिका वडा नं. १,४ र ६ मा खोरेत रोगजस्तै देखिने संक्रमण फैलिएको हो । 

किसानहरुले पालेका पशुका खुट्टा, मुख तथा गिजामा घाउ खटिरा आउने, ज्वरो आउने, र्‍याल काढ्ने, घाँस नखाने जस्ता लक्षण देखिएको कुमाख गाउँपालिका पशुपंक्षी विकास शाखाका पशु विकास अधिकृत विष्णु केसीले जानकारी दिनुभयो । 

खोरेत रोगसँग मिल्दो जुल्दो रोग देखिएको र खोरेत रोग हो वा अन्य रोग हो भनेर परीक्षण गर्नका लागि पशु अन्वेषण प्रयोगशाला सुर्खेतमा पठाइएको उहाँले बताउनुभयो । “पालिकामा सबैभन्दा धेरै प्रभावित किसानहरु वडा नं. १, ४ र ६का हुनुभएको छ । संक्रमण फैलिएको थाहा पाउने बित्तिकै टोली बस्ती स्तरमा पुगी सङ्क्रमित पशुको नमुना सङ्कलन गरी सुर्खेत पठाएका छौँ एक ÷दुई दिनमा रिर्पोट आउला ।”, उहाँले भन्नुभयो । 

अन्य क्षेत्रमा संक्रमण फैलन नदिन खोरेत रोगको लक्षण देखिएका पशुहरूलाई छुट्टै राखिएको र औषधी उपचार भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । 

संक्रमित पशुबाट अन्य पशुमा संक्रमण छिटो सर्ने भएकाले औषधी र खोप लगाइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी विरेन्द्र केसीले जानकारी दिनुभयो । 

बिहीबारदेखि जिल्लाका १० वटै पालिकामा खोरेत रोग विरुद्ध र भेडा बाख्रामा लाग्ने पिपिआर विरुद्धको खोप लगाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button