तपाईँ सुन्दै हुनुहुन्छः

वर्षौँदेखिको पैदल यात्रा अन्त्य: १६ लाखमै सल्यानको पोखरीडाँडा सडक सञ्जालमा जोडिएपछि किसान उत्साहित

सल्यान। वर्षौँदेखि पैदल यात्राको भरमा रहेको सल्यानको विकट बस्ती पोखरीडाँडामा अन्ततः मोटरगाडी गुड्न थालेको छ ।

छत्रेश्वरी गाउँपालिका वडा न-४ मा पर्ने निगालचुला–टोट्के–पोखरीडाँडा सडक निर्माण भएसँगै यो दुर्गम बस्ती प्रत्यक्ष सडक सञ्जालमा जोडिएको हो । कडा चट्टान काटेर बनाइएको यो छोटो तर महत्त्वपूर्ण सडकले स्थानीयवासीको दैनिक जीवन र आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले करिब १६ लाख रुपैयाँको लगानीमा निर्माण गरेको ३५० मिटर लामो सडकको उद्घाटन गरिएको छ । जसमध्ये करिब २०० मिटर भाग अत्यन्त कडा चट्टान काटेर तयार पारिएको वडा प्राविधिक जनक घर्तीले बताउनुभयो । गाउँपालिकाकै स्काभेटर प्रयोग गरी इन्धन खर्चसहित काम सम्पन्न गरिएको हो ।

भौगोलिक रूपमा निकै विकट क्षेत्रमा सडक बनाउनु सजिलो नभए पनि स्थानीयको माग र दीर्घकालीन आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिएको वडा अध्यक्ष छविलाल खत्रीले बताउनु भयो । ‘कठिनाइ धेरै थियो, तर गाउँलेहरूको खुशी हेर्दा सबै मेहनत सार्थक भएको महसुस भएको छ ।’ उहाँले भन्नु भयो । 

पोखरीडाँडाका अधिकांश परिवार तरकारी खेतीमा निर्भर छन् । सडक नहुँदा उत्पादन भएको तरकारी बजार पु¥याउन ठूलो समस्या थियो । अब ढुवानी सहज हुने भएपछि किसानहरू उत्साहित छन् । तुल्सा विकले भन्नु भयो ‘वर्षौंदेखि मोटरबाटोको सपना देखेका यहाँका नागरिक आज गाउँमै गाडी आएको देखेर निकै खुसी छन् ।’

छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले दुर्गम क्षेत्रलाई सडक सञ्जालमा जोड्नु पालिकाको मुख्य प्राथमिकता रहेको बताउनु भयो । भौगोलिक कठिनाइका बाबजुद पनि नागरिकले विकासको अनुभूति गर्न पाउनुपर्छ भन्ने हाम्रो प्रतिबद्धता हो । यो सडकपछि शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ । आगामी दिनमा सडकको स्तरोन्नति र अन्य पूर्वाधार विकासलाई निरन्तरता दिन्छौँ ।’ यस अघि पनि पालिकाका विभिन्न दुर्गम बस्तीमा निकै मिहेनतका साथ मोटरबाटो निर्माण गरिएको उहाँको भनाई थियो ।

प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले सीमित स्रोतसाधनमा पनि दुर्गममा सडक पु¥याउनु ठूलो उपलब्धि भएको उल्लेख गर्नु भयो । 

स्थानीयहरूले सडकलाई थप स्तरोन्नति गर्न र वर्षायाममा पनि यातायात सञ्चालन गर्न सकिने बनाउनुपर्ने माग गरेका छन् । यो सडक निर्माणसँगै पोखरीडाँडा सहित आसपासका अन्य नागरिकलाई पनि सहजता भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button