तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लाको नेप्का गाउँमा बाढी र पहिरो : विद्यालयसहितका भवन, गोठ र भेडाबाख्रा बगे

हुम्ला । हुम्लाको नेप्का गाउँमा आएको बाढी–पहिरोले विद्यालय भवन, गोठ तथा भेडाबाख्रामा ठूलो क्षति पुर्‍याएको छ।

गएराति परेको असिना–पानीसहितको बाढीले डाँफे आधारभूत विद्यालय बगाएको छ। साथै खेतीयोग्य जमिन र गोठहरू पनि बाढीले क्षतिग्रस्त बनाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

चंखेली गाउँपालिका–५ का स्थानीय छक्कबहादुर तामाङका अनुसार वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पहिरोले पुरिएका छन्। गोठसँगै भेडाबाख्रामा समेत क्षति पुगेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख संकर खड्काका अनुसार गएराति करिब साढे ११ बजे बाढी–पहिरो गएको हो। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

उहाँका अनुसार प्रहरी टोली घटनास्थलतर्फ गएको भए पनि दुर्गम भौगोलिक अवस्थाका कारण अहिलेसम्म पुग्न सकेको छैन। टोली दिउँसोसम्म घटनास्थल पुग्ने र त्यसपछि मात्रै क्षतिको यकिन विवरण आउने बताइएको छ।

वडाध्यक्ष हर्कधन तामाङका अनुसार बाढी–पहिरोका कारण आफ्नो र धनसिंह तामाङको गोठ पुरिँदा भेडाबाख्रा समेत पुरिएका छन्। गाउँमा कोदो खेती हुने धेरै जमिन बाढीले बगाएर क्षतविक्षत बनाएको उहाँले बताउनुभयो।

चंखेली गाउँपालिका अन्तर्गत तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन्। गाउँपालिकाको केन्द्र पिप्लाङबाट निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button