तपाईँ सुन्दै हुनुहुन्छः

युवा मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह तथा प्रशासनिक अनुशासनलाई थप व्यवस्थित गर्ने लक्ष्य राखिएको जनाएको छ ।

मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागू गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ । साथै कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ । पद तथा अधिकारको दुरुपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको मन्त्रालयले जनाएको छ ।

आचारसंहितामा कार्यालय अनुशासनसम्बन्धी व्यवस्था समेत स्पष्ट गरिएको छ । कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ । मन्त्रालयले आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट सेवा प्रवाहमा सुधार आउनुका साथै सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button