पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमलेखगञ्ज सडकखण्डमा अतिक्रमण हटाइँदै
वीरगञ्ज। वीरगन्ज र हेटौडाको मेन रोडको सडक अतिक्रमण हटाइएसँगै आजबाट पूर्व–पश्चिम राजमार्गको बारा जिल्लाको अमलेखगञ्ज सडकखण्डमा अतिक्रमणमा परेको सडक, वन र निकुञ्जको जग्गा खाली गर्ने कार्य सुरु भएको छ ।

बिहान ७ बजेदेखि शुरु भएको अभियान अन्तर्गत राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका ३५ वटा घरधुरी र लामो समयदेखि बन्द रहेको सामुदायिक विद्यालयको संरचना भत्काइएको छ ।
डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सुरु भएको यस कार्यका लागि सो क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू परिचालन गरिएको छ ।

अतिक्रमण खाली गर्ने क्रममा स्थानीय र प्रशासनबिच सामान्य झडपको अवस्था सिर्जना भएको थियो । यद्यपि, अहिले अवस्था सामान्य रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वीरेन्द्र यादवले जानकारी दिनुभयो ।
राजमार्गको ३ नम्बर पुल छेउमा अतिक्रमण गरी बस्नेहरूमा अधिकांश मकवानपुरका स्थायी बासिन्दा रहेका थिए, जसले सो क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

डिभिजन सडक कार्यालयले सडक क्षेत्रको दायाँबायाँ २५÷२५ मिटर खाली गराएपछि वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो स्वामित्वमा रहेको क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएका हुन् । सुरक्षाकर्मी र कर्मचारीहरूको बाक्लो उपस्थितिमा सडक किनारका अवैध संरचनाहरू हटाउने काम भई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्