तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न : विद्यार्थीका नवप्रवर्तन र वैज्ञानिक सोचको उत्कृष्ट प्रस्तुति

स्याङ्जा। स्याङ्जाका विद्यार्थीहरूले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा आविष्कारका क्षेत्रमा आफ्नो क्षमता र सिर्जनशीलता प्रस्तुत गर्नुभएकाे छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न विज्ञान सामग्री प्रदर्शनी प्रतियोगितामा जिल्लाभरका विद्यालयका विद्यार्थीहरूले विभिन्न वैज्ञानिक खोज, प्रयोगात्मक सामग्री तथा प्रविधिमूलक आविष्कार प्रदर्शन गर्नुभएकाे हाे ।

जिल्लाको भू.पू. सैनिक आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा विभिन्न स्थानीय तहका १२ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा थप २० जना विद्यार्थी वैज्ञानिकहरूले समेत विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले तयार पारेका सामग्री, प्रविधिमैत्री सोच तथा प्रयोगात्मक प्रस्तुतीले कार्यक्रम आकर्षक बनेको थियो ।

उक्त प्रतियोगितामा आँधी खोला गाउँपालिकाको त्रि सहिद नमुना माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । त्यसैगरी गल्याङ नगरपालिकाको श्री भानुभक्त आचार्य माध्यमिक विद्यालय द्वितीय, विरुवा गाउँपालिकाको जीवन ज्योति माध्यमिक विद्यालय तृतीय तथा पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले विज्ञान र नवप्रवर्तनको क्षेत्रमा विद्यार्थीहरूलाई अनुसन्धानमुखी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले भविष्यमा दक्ष वैज्ञानिक तथा अनुसन्धानकर्ता उत्पादन गर्न विद्यालय तहदेखि नै विज्ञान प्रतिको रुचि विकास गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले मुलुकको विकास र समृद्धिका लागि विज्ञान तथा प्रविधिको भूमिका महत्वपूर्ण रहने बताउँदै बालबालिकालाई सानैदेखि वैज्ञानिक सोचतर्फ प्रेरित गर्नुपर्ने धारणा राख्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले भविष्यमा दक्ष वैज्ञानिक, प्राविधिक तथा नवप्रवर्तनकर्ता उत्पादन गर्न विद्यालय स्तरबाटै विज्ञान र अनुसन्धानमा आकर्षण बढाउनुपर्ने बताउनुभयो ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले विद्यार्थीभित्र रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न कार्यक्रमले महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै विज्ञान तथा प्रविधिको प्रयोगात्मक ज्ञान विकासमा यस्ता प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button