सञ्चार र सडकको माग गर्दै मुख्यमन्त्री कार्यालयमा वडाध्यक्षको धर्ना

सल्यान I सञ्चार र सडकको माग गर्दै सल्यान कालीमाटी गाउँपालिका ७ का वडाध्यक्ष मित्रलाल रिजालले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि धर्नामा बस्नु भएको छ ।
घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभए पछि बाध्य भएर कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेको रिजालको भनाई छ ।
सडकको दुरावस्थाले स्थानीय बासिन्दा वर्षौँदेखि सास्ती खेप्दै आइरहेको जसले सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे र अवरुद्ध हुने, बिरामी बोकेका सवारी बीच बाटोमै रोकिने तथा विद्यार्थी र सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ‘सडक छैन, फोनले काम गर्दैन । नागरिकले आधारभूत सेवा पाउन पनि सङ्घर्ष गर्नुपरेको छ । जनताको आवाज सरकारले नसुनेपछि बाध्य भएर प्रदेश राजधानीमै धर्ना बस्न सुर्खेत पुगेको हुँ ।’
वडाध्यक्ष रिजालसँगै वडा सदस्य विर्घाबहादुर राना पनि धर्नामा सहभागी हुनु हुन्छ । नेकपा (एमाले)बाट निर्वाचित रिजालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्