तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकले महशुस गर्नेगरी परिणाममुखी सेवा प्रवाह गर्न आग्रह 

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नागरिकले महशुस गर्नेगरी परिणाममुखी सेवा प्रवाह गर्न मन्त्रालयसँग निकाय तथा विभागलाई आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज युवा, श्रम तथा रोजगार मन्त्रालयस्तरीय समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले सैद्धान्तिक प्रगति विवरण पेश गरिनुको सट्टा आमजनताले महशुस गर्नेगरी जिम्मेवारीपूर्वक सेवा प्रवाह गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारमा गएका नेपाली नागरिकको सुरक्षा तथा उद्धारको काम छिटोछरितो रुपमा गर्न, मन्त्रालयगत विभागका कामकारबाही चुस्त बनाइ डिजिटल रूपान्तरण गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.पुकार मल्लले युवा स्वरोजगार, युवा सीप तथा क्षमताको उचित परिचालन गर्न श्रम मन्त्रालयले मन्त्रालयगत समन्वय र सहकार्य गरेर अघि बढ्न सुझाव दिनुभयो । 

समीक्षा कार्यक्रममा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयगत विभिन्न निकाय तथा विभागमार्फत भएका त्रैमासिक प्रगति तथा भइरहेका कामकारबाही बारे जानकारी गराउनुभयो ।

सहसचिव भण्डारीले हालसम्म सूचीकृत बेरोजगारमध्ये सहायता कार्यक्रमबाट रोजगार पाउने व्यक्ति १७ सय ८३ ,सामाजिक सुरक्षा कोषमा आवद्ध लाभग्राही संख्या ५ लाख १४ हजार ८ सय ९७ जना , सामाजिक सुरक्षा कोषमा समावेश हुने प्रतिष्ठान तथा रोजगारदाता २ हजार ४ सय ६२ पुगेको लगायतका त्रैमासिक प्रगति विवरण पेश गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button