तपाईँ सुन्दै हुनुहुन्छः

समता महिला विद्यालयमा प्रेरणादायी सफलता

नवलपरासी (पश्चिम) ।पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यालयका रूपमा परिचित लुम्बिनी समता महिला विद्यालयले यस वर्षको एसईई परीक्षामा प्रेरणादायी सफलता हासिल गरेको छ । विद्यालयबाट पहिलो पटक एसईईमा सहभागी भएका सात महिलामध्ये चार जना उत्तीर्ण भएका छन् ।

उमेरले नेटो काटिसकेका आमा र बुहारीहरूले हासिल गरेको यो सफलताले “पढ्नका लागि उमेर बाधक हुँदैन” भन्ने सन्देशलाई थप बलियो बनाएको छ ।

विद्यालयका अनुसार सहभागी सात जनामध्ये चार जना उत्तीर्ण भएका छन् भने बाँकी तीन जनाले केही विषयमा पुनः परीक्षा दिनुपर्ने भएको छ । पहिलो प्रयासमै आएको नतिजालाई विद्यालयले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ ।

विद्यालयकी प्रधानाध्यापक राधिका रोकाले सिक्ने इच्छाशक्ति भए उमेरले कहिल्यै नछेक्ने बताउनुभयो ।
“हाम्रा आमा दिदीबहिनीहरूले सिक्नका लागि उमेरले रोक्दैन भन्ने प्रमाणित गर्नुभएको छ । यो सफलताले आगामी दिनमा अझ मेहनत गर्ने ऊर्जा दिएको छ,” उहाँले भन्नुभयो ।

यस विद्यालयमा अध्ययन गर्ने महिलाहरूको उमेर १८ वर्षदेखि ७० वर्षसम्म रहेको छ । घरायसी जिम्मेवारीका कारण पढाइ बीचमै छोडेका महिलादेखि नातिनातिना खेलाउने उमेरका आमासमेत अहिले किताब–कापी बोकेर विद्यालय पुग्ने गरेका छन् ।

सुनवल नगर प्रमुख बिमला अर्यालले विद्यालयको सफलताले नगरकै गौरव बढाएको बताउनुभयो ।
“महिलाले चाह्यो भने घर मात्रै होइन, शिक्षाको क्षेत्रमा पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने यो उदाहरण हो । पहिलो सहभागितामै यस्तो सफलता आउनु अत्यन्त सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो नतिजाले महिलाको शिक्षामा थप लगानी गर्न स्थानीय सरकारलाई हौसला मिलेको छ ।

हाल कक्षा ४ देखि १० सम्म पढाइ हुने यस सामुदायिक विद्यालयमा करिब १०० जना महिलाहरू अध्ययनरत छन् । सीमित स्रोतसाधन र केवल ६ जना शिक्षकको भरमा विद्यालयले हासिल गरेको उपलब्धिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

विगतमा विभिन्न सामाजिक तथा पारिवारिक कारणले विद्यालय जान नपाएका महिलाहरूका लागि अहिले यो विद्यालय आशाको केन्द्र बनेको छ । सुरुमा आमा र बुहारीहरू विद्यालय जाँदा अचम्म मान्ने समाज अहिले उनीहरूको सफलतामा गर्व गर्न थालेको छ ।

समता महिला विद्यालयको यो सफलताले लुम्बिनी प्रदेशभरि नै सकारात्मक सन्देश फैलाएको छ । “सिकाइको यात्रा सुरु गर्न कहिल्यै ढिला हुँदैन” भन्ने सन्देशलाई यस सफलताले थप बलियो बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button