तपाईँ सुन्दै हुनुहुन्छः

पङ्ख खोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्ख खोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात आवागमन अवरुद्ध भएको हो । 

मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पङ्ख खोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रुसमेत वारपार गर्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् । लेदोसहितको बाढीले सडक बन्नुअघि नै क्षति पुर्‍याएपछि अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सडक पुनःसञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ तथा काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने सवारीसाधन र यात्रुलाई समस्या भएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन मध्यपहाडी लोकमार्ग र सडक विभागका प्राविधिक टोली बिहीबार घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक विष्टले बताउनुभयो । सडकमाथिबाट लेदोसहित आएको बाढीले बगाएर सडक बन्नुभन्दा अगाडि जस्तो थियो त्यस्तै अवस्थामा पुर्‍याएको उहाँको भनाइ छ ।

बाढीले खोलेर चट्टानसहितको भीर बनाएकाले निर्माण गर्न ‘ब्रेकर’ले पनि सम्भव नहुने देखिएको स्थानीयले बताएका छन् । “ग्याबिन जाली भरेर तलैदेखि निकाल्यो भने मात्र केही दिनमा सडक बन्न सक्ने सम्भावना छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले भन्नुभयो ।

पङ्ख खोलामा विसं २०७३ मा मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म बन्न नसकेको हो । कालोपत्रको काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण पक्की पुल निर्माण नहुँदा खोलाबाट यातायातका सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता थियो । 

पङ्ख खोलाको निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदारका कारण अलपत्र बनेपछि श्रमदानमार्फत यही जेठ १७ गते काठको पुल निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । श्रमदान गरेर निर्माण गरिएको काठे पुल यही जेठ २२ गते राति आएको बाढीले बगाएपछि समस्या भएको वडाध्यक्ष कठेतले बताउनुभयो । अटो तथा मोटरसाइकल वारपार गराउन मिल्नेगरी श्रम संस्कृति पार्टी निकट श्रमदाताले तीन दिन लगाएर काठे पुल निर्माण गरेको थियो । 

यही जेठ २२ गते राति आएको वर्षापछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध हुँदा यात्रुलाई गन्तव्यमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । 

विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याएको गाडीमार्फत यातायात सुरु भएको जिल्लामा अहिले सबै ठाउँमा सेवा विस्तार भएको छ । सेवा सुरु भएको लामो समय बितिसक्दा पनि मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन् । 

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिना मात्रै सञ्चालन हुने अवस्था रहेको वडाध्यक्ष कठेतले जानकारी दिनुभयो । हिउँदको समयमा मात्र सञ्चालन हुँदै आएका ग्रामीण सडक हरेक वर्षको जेठदेखि कात्तिक अन्तिमसम्म अवरुद्ध हुने गर्दछन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button