तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्ले राष्ट्रपतिबाट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८३÷८४ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएसँगै छलफल सुरु भएको हो ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सहभागी सांसदहरुले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिने नसकेको बताउनुभयो ।

सांसदहरुले प्रस्तुत नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जलविद्युत आयोजनाहरूको प्राथमिकीकरणका विषयलाई समेट्न पनि सुझाव राख्नुभयो ।

सांसदहरुले विपन्न वर्ग, मधेश प्रदेश, सबल सङ्घीयता, समावेशिताको सुदृढीकरण लगायतका विषयमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको कार्यशैली र नीतिमा एकरुपता नभएको जिकिर गर्नुभयो ।

यस्तै सांसदहरुले मुलुकको साधनस्रोत उचित परिचालन, कृषि, शिक्षा, रोजगारी र आर्थिक विकासका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

सांसदहरुले संविधान संशोधनको विषयमा लक्षित वर्ग, समुदाय लगायत सर्वपक्षीय छलफल, परामर्श गरी छुटेका विषयलाई प्राथमिकता दिनुपर्ने पनि सुझाव राख्नुभयो ।

यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले अभौतिक असांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।

यसअघि, राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जबाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले प्रधानमन्त्री शाह नीति तथा कार्यक्रम प्रस्तुतीको बीचमा उठेर हिँड्ने तथा संसद्मा अनुपस्थित हुने जस्ता संसदीय मर्यादा विपरीतका व्यवहार देखाउनुभएको भन्दै संसद्मा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभयो ।

यस्तै सांसदहरुले सुकुम्वासीहरूको उचित व्यवस्थापन गर्ने योजनाबिनै सरकारले घरवासविहीन बनाएको उल्लेख गर्दै सुकुम्बासीहरुलाई उचित बास, गाँस तथा रोजगारको व्यवस्थापन गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रियसभाको अर्को बैठक भोली बैशाख ३१ गते बिहीबार बिहान ११ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button