तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा असिना र बाढीको कहर : फलफूल र हिउँदेबालीमा ठूलो क्षति

सल्यान। सल्यानमा आएको असिना पानी र बाढीले फलफूल तथा हिउँदेबालीमा ठूलो क्षति गरेको छ ।

असिनापानीसँगै शारदा नदी र अन्य साना खहरेखोलामा आएको बाढीले बागचौर नगरपालिका ६,७,८,९,१० र छत्रेश्वरी गाउँपालिका १ र२ वडामा कृषकले लगाएका फलफूल तथा हिउँदे बाली र दर्जनौँ योजनामा ठूलो क्षति पु¥याएको छ । 

बाढीले दुई दर्जन बढी सडक, खानेपानी सिचाई कुला तथा तटबन्ध तथा  एकसय रोपनी बढीमा पाकेको गहुँ, तरकारी र सुन्तला टिमुरमा क्षति गरेको छ । 

चारपटकसम्म परेको असिनापानीले ११ लाख बढीको क्षति पुगेको बागचौर नगरपालिका ७ दहगाउँका दिपेश डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ सय बोट सुन्तला, १५० बोट किवी, ६ रोपनीमा लगाएको आलु लगायत ओखर र टिमुरमा ठूलो क्षति गरेको छ । यहाँले भन्नु भन्नु भयो गत वर्ष ५ लाखको सुन्तला बिक्री भएको थियो । गत वर्षको तुलनामा यो वर्ष सुन्तला राम्रो फलेको पनि थियो । तर पटक पटक पर्ने असिना पानीले एक दानामा पनि बोटमा छैन ।  

बागचौरका अधिकांश किसानको  आम्दानीको मुख्य स्रोतमा नै असिना पानी र बाढीले बगाएको बागचौर नगरपालिका ६ का वडाध्यक्ष ज्ञान बहादुर वलीले बताउनु भयो । गत वर्ष मात्र ५० लाखको लागतमा हिमचौर खानेपानी योजनामा बाढीले क्षति पुर्‍याएपछि १२० घरपरिवार पूर्णरुपमा प्रभावित भएको उहाँको भनाई छ । 

यस्तै ९ न वडाध्यक्ष यज्ञ बहादुर डाँगीले बाढीले वडाभित्रका तीन दर्जन नयाँ पुराना सडकमा क्षति गर्नुका साथै खानेपानी योजनामा क्षति गरेको छ । उहाँले भन्नु भयो यो क्षेत्र सुन्तला खेतीका लागि निकै प्रख्यात छ । एउटै वडाबाट करोडौँको सुन्तला निकासी हुने गर्दछ । तर असिना पानी र खहरेखोलामा आएको बाढीले सबै सखाप बनाइ दियो । 

जिल्लाका अन्य पालिकामा असिना पानी र बाढीले सामान्य क्षति गरेपनि बागचौर नगरपालिकामा बढी क्षति भएको बागचौर नगरपालिका कृषि विकास शाखा प्रमुख घनश्याम केसीले जानकारी दिनु भयो । पालिकामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको उहाँको भनाई छ । पहिलो पटक आएको असिनापानीले क्षति पुर्‍याएका २०२ किसानहरूको क्षतिपूर्तिका लागि सम्बन्धित कार्यालयमा पठाइसकेको र पछिल्लो चरणमा भएको क्षतिको सङ्कलन गर्ने कार्य भइरहेको छ उहाँले भन्नुभयो । 

शनिबार दिउँसो शारदा नदीमा आएको बाढीले खोला किनारमा गहुँ लोड गरि रहेको १ ट्याक्टर बगाउनुका साथै सेलाई रहेको एक शव बगाएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button