तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासी प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नवलपरासी। पश्चिम नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो।

जिल्लामा तोकिएका उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यक्रममा बोल्दै मन्त्री सारुले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न खोपको महत्वपूर्ण भूमिका रहने बताउँदै पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी, स्थानीय तह, जनप्रतिनिधि तथा अभिभावकको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले खोप कार्यक्रमलाई दिगो बनाउन सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको समेत बताउनुभयो।पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगहरू बढ्दो देखिएको उल्लेख गर्दै प्रदेश सरकारले दिने सहायता मार्फत नसर्ने रोगहरूमा मात्रै ४५ करोड भन्दा बढी खर्च भैसकेको उहाँले उल्लेख गर्नु भयो ।उच्च रक्तचाप,मृगौला सम्बन्धि रोग,क्यान्सर जस्ता घातक रोग बढ्दो देखिएकाले नसर्ने रोगहरू तर्फ पनि सचेत हुनु पर्नेमा मन्त्री सारुले जोड दिनु भयो ।प्रदेश सरकारले दक्ष स्वास्थ्यकर्मी उत्पादनमुखी योजनाहरू अघि सारेको उहाँले बताउनु भयो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्लामा खोप अभियान सफल बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर खोप छुटेका बालबालिकाको खोजी, नियमित अनुगमन तथा सचेतनामूलक अभियान सञ्चालन गरिएकाले पूर्णखोप सुनिश्चितता हासिल गर्न सफलता मिलेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गद बहादुर शाहीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button