तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषध दुर्व्यसनविरुद्ध विद्यार्थीलाई सचेत बनाइँदै

नवलपरासी। बर्दघाट जेसिजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौँ दिन लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम दिव्य ज्योति माध्यमिक विद्यालयमा आयोजना गरिएको हो।

युवापुस्तामा बढ्दो लागूऔषध दुर्व्यसनको जोखिम न्यूनीकरण गर्दै विद्यार्थीमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा लागूऔषध सेवनले मानव स्वास्थ्य, मानसिक अवस्था, पारिवारिक सम्बन्ध तथा सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिइएको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बर्दघाट र पहिलो उपचार केन्द्रका प्रतिनिधिहरूले प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरूले लागूऔषधको लतले व्यक्तिको भविष्य नै अन्धकारतर्फ धकेल्ने भएकाले विद्यार्थी अवस्थादेखि नै सचेत हुन आवश्यक रहेको बताएका थिए।

उनीहरूले लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा गम्भीर असर पर्ने उल्लेख गर्दै युवाहरूलाई कुलतबाट टाढा रहन आग्रह गरेका थिए। विद्यालयस्तरबाटै यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिएको थियो।

बर्दघाट जेसिजका अध्यक्ष महेन्द्र गौतमले सचेत समाज निर्माणका लागि युवापुस्तालाई विद्यालय तहबाटै सही मार्गदर्शन आवश्यक रहेको बताउनुभयो।

खुला सीमाका कारण नवलपरासीमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको र युवापुस्ता यसको दलदलमा फस्ने जोखिम बढिरहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button