रोजगारी नभएपछि गाउँ छोड्दै छन् युवा
दोलखा । ग्रामीण क्षेत्रमा सडक, बिजुली, टेलिफोन, इन्टरनेट जस्ता सुविधा पुगेको भएपनि रोजगारीको लागि युवाहरू बिदेसिने क्रम बढेपछि त्यहाँका बस्तीहरू खाली हुन थालेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर–२ भुसाफेदा मालिघ्याङका सोम बहादुर श्रेष्ठ गाउँमा सबैखाले सुविधा पुगेको भए पनि रोजगारीको अभाव र कृषि व्यवसाय धरासायी बनेपछि ज्येष्ठ नागरिक बाहेक अधिकांशले गाउँ छोडेको बताउँछन् ।
गाउँमा रोजगारी छैन, कृषि क्षेत्रमा जतिसुकै मेहेनत गरेपनि बजारको समस्या छ त्यसैले धेरै युवाहरू रोजगारीको लागि विदेश गएका छन्– सोम बहादुरले भने । गाउँमा भएका अधिकांश महिलाहरू पनि छोरा– छोरी पढाउने भन्दै राजधानी काठमाडौँ र सदरमुकाम चरिकोटतिर लागेपछि गाउँ सुनसान बनेको उनको भनाई छ ।
अहिले गाउँमा राम्रा– राम्रा विद्यालय भवन छन्, स्वास्थ्य केन्द्र छ, सडक, बिजुली र फोन पनि छ तर आयस्रोतको लागि भरपर्दो उपाय नदेखिएपछि कमाउन सक्नेहरू सबैले गाउँ छोडेका छन्– सोम बहादुरले भने ।
वडा नम्बर– २ घट्टे खोलाको कालिका लामा पनि भूकम्पपछि धेरैले गाउँ छोडेको बताउँछिन् । स्वास्थ्य चौकी भवनसँगै होटल र पसल सञ्चालन गर्दै आएको लामा गाउँमा भूकम्प प्रतिरोधी राम्रा– राम्रा घर बनेको भए पनि बस्ने मानिस भने घट्दै गएको बताउँछिन् । दशै– तिहार जस्ता पर्वहरूमा सबै मानिस गाउँ फर्कने भए पनि अरू समय गाउँ सुनसान हुनेगरेको उनको भनाई छ ।
शैलुङ वडा नम्बर– १ ठाँडेका खड्ग बहादुर मोक्तान गाउँमा खेती– किसानी गरेर आम्दानी हुने अवस्था नभएको र राम्रो उपचारको लागि पनि राजधानी वा सदरमुकाम धाउनुपर्ने बाध्यता भएपछि धेरैले गाउँ छाडेको बताउँछन् । यो क्रम भूकम्प पछि बढेको उनको भनाई छ ।
२०७२ को विनाशकारी भूकम्प पछि गाउँमा राम्रा– राम्रा घर बनेका छन्, सडक, स्वास्थ्य चौकी र विद्यालय छन्, तर मानिस घट्दै गए– उनले भने । मानिसलाई गाउँमै बस्ने वातावरण बनाउन कृषि र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने उनको भनाई छ ।
शैलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु कार्की गाउँमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भए पनि रोजगारीको लागि युवाहरू विदेश जान थालेपछि गाउँ छोड्ने क्रम बढेको बताउँछन् । भूकम्पपछि चालिस प्रतिशत मानिसले गाउँ छोडेको कार्कीको अनुमान छ ।
शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ गाउँपालिकाले हरेक गाउँमा सबैखाले सुविधा पुर्याएको भए पनि मानिसलाई रोक्न नसकिएको बताउँछन् ।
सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा सुधार गरेको भए पनि रोजगारी दिन नसकिने भएकोले मानिसलाई गाउँमा रोकिने अवस्था नबनेको अध्यक्ष श्रेष्ठको भनाई छ । सहर पसेका मानिसलाई गाउँ फर्काउन पालिकाले कृषि क्षेत्रको सुधार गर्दै आयस्रोत बढाउने कुरामा ध्यान दिइरहेको उनको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्