जुम्लामा घरदैलोमै राहदानी वितरण सुरु
जुम्ला। जुम्लामा घरदैलोमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ ।

सरकारका शासकीय सुधारका सय कार्यसूची अन्तरर्गत जुम्लाका नागरिकलाई घरदैलोमै राहदानी वितरण सुरु गरिएको हो ।
घरदैलोमै राहदानी पुराउने विषयमा बुधबार जिल्ला प्रशासन जुम्ला र जिल्ला हुलाक कार्यालय जुम्लाबीच दुई पक्षीय समझदारी समेत भएको छ ।
उक्त समझदारी अनुसार हुलाक कार्यालयका एक कर्मचारी जिल्ला प्रशासनमा बस्ने छन् । प्राप्त भएका राहदानी प्रशासनले हुलाकको जिम्मा लगाउने र हुलाकका कर्मचारी सम्बन्धित नागरिकका घरघरमा पुगेर राहदानी वितरण गर्ने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।
‘सरकारका शासकीय सुधारका सय कार्यसूची अन्तर्गत सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, छिटो छरितो बनाउने अभियान अन्तर्गत विभिन्न सुधारका काम गरिरहेका छौ ।’ प्रजिअ पौडेलले भन्नुभयो,’अब जिल्लाका आठै स्थानीय तहका घरघरमा पुगेर हुलाकका कर्मचारी राहदानी दिने छ । सम्बन्धित लाभग्राहीले राहदानी बुझे बापत ५५ रुपैयाँ बुझाउनु पर्ने छ । भने लाभग्राहीको तीन पुस्ते विवरण बुझेर मात्र उपलब्ध गराइने छ ।’
राहदानी लिनका लागि सदरमुकाम आउनु पर्ने, आउजाउमा रुपैयाँ खर्चिनु पर्ने बाध्यता झेल्दै आएका स्थानीयले घरमै राहदानी पाउने भएपछि राहत महसुस गर्ने छन् ।
जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख गणेशदत्त रावलले प्रशासनबाट प्राप्त भएका राहदानीहरू हुलाकका कर्मचारी (हल्कारा)मार्फत तीन दिनभित्र सम्बन्धित सम्बन्धित सेवा ग्राहीको घरमै पुराउने वातावरण बनाइएको बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्