तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी टोली जस्ट जोन एफसीद्वारा रोयल फुटबल क्लब ४–२ गोल अन्तरले पराजित

बाँके । कोहलपुरमा जारी चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा विदेशी टोली जस्ट जोन एफसी (नाइजेरिया) ले प्रभावशाली प्रदर्शन गर्दै रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले पराजित गरेको छ। वर्षाले प्रभावित खेल पुनः सुरु भएपछि नाइजेरियाली टोलीले आफ्नो लय कायम राख्दै शानदार जित दर्ता गरेको हो।

वैशाख २० गते कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रङ्गशालामा सुरु भएको खेल खराब मौसमका कारण ३७औँ मिनेटमा स्थगित भएको थियो। त्यसबेला जस्ट जोन एफसी १–० ले अघि थियो, जहाँ २९औँ मिनेटमा हम्जात डिमोलाले पहिलो गोल गरेका थिए।

आज २१ गते बिहान पुनः सुरु भएको खेलमा जस्ट जोन एफसीले आक्रामक खेल प्रस्तुत गर्‍यो। दोस्रो हाफको ४७औँ मिनेटमा अब्दुल्लाजीजले गोल गर्दै अग्रता दोब्बर बनाए । लगत्तै ४९औँ मिनेटमा कर्णालीका सन्दिप देउवाले जवाफी गोल फर्काए पनि ५२औँ मिनेटमा ओवालाही अफिजले गोल गर्दै खेल ३–१ मा पुर्‍याए।

कर्णालीका विक्रम ओलीले ५५औँ मिनेटमा गोल गर्दै खेललाई ३–२ मा झारे पनि अन्तिम समयमा ९०औँ मिनेटमा ताजुदिन एडीले निर्णायक गोल गर्दै जस्ट जोन एफसीको जित सुनिश्चित गरे ।

उत्कृष्ट प्रदर्शन गरेका हम्जात डिमोला ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए। उक्त पुरस्कार लुम्बिनी खेलकुद परिषद् सदस्य जनक केसी, कोहलपुर डेन्टल हस्पिटलका प्रबन्धक गजेन्द्र शाही र अतिथि सत्कार संयोजक प्रकाश खड्काले संयुक्त रूपमा प्रदान गरेका थिए ।

यसअघि उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम) लाई २–१ गोल अन्तरले पराजित गरेको थियो। 

वैशाख २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button