तपाईँ सुन्दै हुनुहुन्छः

१५ वर्ष बितिसक्दा समेत पूर्ण भएन गुइगाड खोला पुल 

बाजुरा । बाजुरा सदरमुकाम मार्तडी जोड्ने मुख्य साँफे–मार्तडी सडकखण्डमा पर्ने गुइगाड खोला पुल १५ वर्षसम्म पनि पूर्ण रूपमा सञ्चालनयोग्य बन्न नसक्दा स्थानीयवासीले अझै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। 

निर्माण सम्पन्न भएको दाबी गरिए पनि पुलको गुणस्तर कमजोर देखिएपछि अहिलेसम्म पास हुन सकेको छैन। लोड परीक्षणका क्रममा ४५ टन भार धान्नुपर्ने पुलले ३० टन समेत धान्न नसकेर चर्किएको पुष्टि भएपछि पुलमाथि यात्रा गर्नु झनै जोखिमपूर्ण बनेको हो। 

सडक डिभिजन कार्यालय साँफेबगर, अछामले दुर्घटना न्यूनीकरण गर्न पुलमा ‘एक पटकमा एउटा मात्र सवारी’ सञ्चालन गर्ने सूचना टाँसेको छ। तर कुन सवारी कति क्षमताको भन्ने स्पष्ट नहुँदा झनै अन्योल र जोखिम बढेको यातायात व्यवसायीहरूको भनाइ छ। २०६८ सालमा सुरु भएको पुल निर्माण २०७० भित्र सक्ने सम्झौता भए पनि ठेकेदार कम्पनी राजेन्द्र थिगिन जेभीले समयमै काम पूरा गर्न सकेको छैन।

निर्माण सम्पन्न भएको केही वर्षमै पुलको संरचना जीर्ण बन्दै गएको छ। पिल्लरका भाग खोलाले कटान गर्दा कमजोर बनेका छन्। पुलको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ।

सडक डिभिजन कार्यालयका अनुसार ठेकेदारलाई करिब ९५ प्रतिशत रकम भुक्तानी भइसकेको छ। करिब ५ करोड ९६ लाखको लागतमा निर्माण सम्झौता भएको पुलका लागि ५ करोडभन्दा बढी रकम निकासा भइसके पनि परिणाम भने निराशाजनक छ।

स्थानीयले तत्काल पुल पुनःनिर्माण गर्न माग गर्दै आएका छन्। “मुख्य सडककै पुल यस्तो कमजोर हुँदा जुनसुकै बेला ठुलो दुर्घटना हुन सक्छ,” स्थानीय मङ्गल विकले दुख व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button