बोक्सी आरोपमा दलित महिलामाथि दुर्व्यवहार, एक पक्राउ
रौतहट। रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै दलित महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–९ डुमरिया टोलका ३० वर्षीय शंकर माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीय ५५ वर्षीया अंकलियादेवी मुसहरिनमाथि केही व्यक्तिले बोक्सीको आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेको आरोप छ। पीडितलाई जबर्जस्ती अपमानजनक व्यवहार गरिएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको थियो।
प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार जाहेरीपछि अनुसन्धान सुरु गरी एक जनालाई पक्राउ गरिएको हो।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने जनाएको छ। यस्तो अमानवीय र सामाजिक अपराधमा संलग्न जोसुकैलाई कडा कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।






प्रतिक्रिया राख्नुहोस्