तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी भवन दुई वर्षदेखि अलपत्र, फाउण्डेशनमै रोकियो निर्माण कार्य

बाँके। बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि पूरा नहुँदा अलपत्र बनेको छ। मातृस्वास्थ्यजस्तो संवेदनशील पूर्वाधार समयमै सम्पन्न नहुँदा स्थानीय महिलाहरू जोखिमपूर्ण अवस्थामा सेवा लिन बाध्य छन्।

करिब १ करोड २५ लाख रुपैयाँ लागतमा सुरु गरिएको उक्त भवन आर्थिक वर्ष २०८०/०८१ मा विशेष योजनाअन्तर्गत सम्झौता भई निर्माण थालिएको थियो। सम्झौताअनुसार २०८१ भित्रै सम्पन्न हुनुपर्ने भवन हालसम्म फाउण्डेशनमै सीमित रहेको छ।

वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवका अनुसार १ करोड ८७ लाख ९४ हजार ७०७ रुपैयाँमा निर्माण सम्पन्न गर्ने जिम्मा पार्वती बडिमालिका जेभी, कोहलपुरले पाएको भए पनि हालसम्म करिब २५ प्रतिशत मात्र काम भएको छ। “ठेकेदार सम्पर्कविहीनजस्तै बनेका छन्, काम अघि बढ्ने कुनै संकेत छैन,” उहाँले भन्नुभयो।

भवन समयमै बनेको भए स्थानीय महिलाले आफ्नै वडामै सुरक्षित सुत्केरी सेवा पाउने थिए। तर अहिले पनि सुत्केरी व्यथा लागेपछि उनीहरू टाढाको सदरमुकाम जान बाध्य छन्, जसले आर्थिक र स्वास्थ्य दुवै जोखिम बढाएको छ।

स्थानीय शियाराम यादवका अनुसार सरकारका योजनाहरू समयमै सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणले भोग्नुपरेको छ।

उता निर्माण व्यवसायी गोपाल बोहराले माटो व्यवस्थापनको समस्या देखाउँदै काम रोकिएको दाबी गर्नुभएको छ। “माटोको व्यवस्था पालिकाले गरेपछि काम अघि बढ्छ,” उहाँले भन्नुभयो।

गाउँपालिका अध्यक्ष छब्बन खाँले मातृस्वास्थ्यजस्तो संवेदनशील संरचनामा ढिलाइ अस्वीकार्य भएको भन्दै निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिनुभयो।

तर दुई वर्षसम्म काम अघि नबढ्नु र निकायबीच जिम्मेवारी स्पष्ट नहुनुले स्थानीय महिलाको स्वास्थ्य सेवा अझै पनि जोखिममै रहेको देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button