स्विप अप्रेसन: लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
उपत्यकाबाट ४१, कोसी प्रदेशबाट पाँच सय ९३, मधेसबाट ३०, बागमतीबाट ५१, गण्डकीबाट एक सय ४०, लुम्बिनीबाट ४२, कर्णालीबाट ८७ र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अवधिमा अवैध लागुऔषध गाँजा १७६ किलो, चरेस १६ किलो, खैरो हेरोइन एक किलो ३७२ ग्राम, पोलेन एक किलो १४२ ग्राम बरामद गरिएको छ ।
त्यस्तै नियन्त्रित लागुऔषध डाईजेपाम एक हजार २२४ एम्पुल, फेनारगन एक हजार ४१७ एम्पुल, बुप्रेनोर्फिन एक हजार ७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट दुई सय ४२ ट्याब्लेट, स्पास्मो एक सय तीन ट्याब्लेट बरामद गरिएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको उहाँको भनाइ छ । सबै प्रहरी कार्यालयहरूले विशेष स्विप अप्रेसन सञ्चालन गरी त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकता राखेको उहाँले बताउनुभयो ।
प्रहरीले लागुऔषध दुर्व्यसनीले समाज एवं व्यक्तिगत जीवनमा पार्ने नकारात्मक असरसम्बन्धी समुदाय(प्रहरी साझेदारीअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालय तथा सबै जिल्ला प्रहरी कार्यालयले स्विप अप्रेसन सञ्चालन गरी लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेका प्रहरी नायब महानिरीक्षक काफ्लेले उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्