तपाईँ सुन्दै हुनुहुन्छः

‘सुशासन र समृद्धिका लागि नैतिकवान् नागरिक तयार गर्न जरुरी’

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले नैतिक शिक्षाले मुलुकमा सुशासन स्थापनामा ठूलो मद्दत पुग्ने भएकाले नैतिक शिक्षामा जोड दिनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

प्रदेश प्रमुख डा.कर्णले मधेसी आयोगले सञ्चालन गर्दै आएको नैतिकवान् मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रम अन्तर्गत आज जनकपुरधाममा “प्रशासनिक आचरण, उत्तरदायित्व र सुशासित समृद्ध मधेस निर्माणमा सरोकारवालाहरूको भूमिका” विषयक अन्तरक्रियामा उहाँले नैतिक शिक्षाका अभावका कारणले व्यक्तिको आचरणमा आएको ह्रासले धेरै क्षेत्रमा विकृति एवं विसङ्गतिहरू फैलिएको उल्लेख गर्नुहुँदै नैतिकवान् नागरिकले देशलाई सही मार्ग दर्शन गर्ने बताउनुभयो । 

प्रदेश प्रमुख डा.कर्णले अहिलेको शिक्षा डिग्री केन्द्रित भएको उल्लेख गर्नुहुँदै हरेक बालबालिकामा व्यवहारिक ज्ञान दिनेतर्फ अभिभावकले ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

उहाँले प्राचीन मिथिलाका राजधानी एवं राजा जनकका दरबार नैतिक शिक्षाका लागि उदाहरणीय भएको भन्नुहुँदै यसलाई अहिले युवा पुस्ताले अनुशरण गर्न जरुरी रहेको बताउनुभयो । 

मधेश प्रदेशसभाका सदस्य एवं प्राकृतिक श्रोत साधन समितिका सभापति शारदा दास पहाडीले अहिले व्यक्तिवादी प्रवृत्ति हाबी भएका कारणले नैतिकतामा ह्रास आएको भन्नुहुँदै युवाहरूमा सामूहिक भावनाको विकास गर्नका लागि पनि नैतिक शिक्षामा जोड दिन जरुरी रहेको बताउनुभयो । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले अहिलेका कतिपय युवा पुस्तामा देखिएको नैतिक ह्रासका कारणले अहिलेका पुस्ताहरू वृद्धा अवस्थामा पुग्दा आफ्नै छोराछोरीबाट पीडित भएर वृद्धाश्रम जाने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा मधेशी आयोगका सदस्य अभाव सेतु सिंहले मधेश प्रदेशका शिक्षा क्षेत्रमा आएको ह्रासको प्रमुख कारणको रुपमा नै नैतिक शिक्षाको कमी भएको बताउनु भयो । 

कार्यक्रममा ईन्सेकका मधेश प्रदेशका संयोजक राज पासवान तथा मधेश प्रदेशका मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले समाजलाई सही दिशा निर्देश गर्नका लागि नैतिक शिक्षामा जोड दिनुको कुनै विकल्प नभएको बताउनुभयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button