तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा व्यावसायिक मकै खेतीतर्फ किसानको आकर्षण

रौतहट । रौतहटका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । 

जिल्लाको वृन्दावन नगरपालिकास्थित बलेरी टोलमा मात्र करिब साढे चार सय बिगाह क्षेत्रफलमा मकै खेती गरिएको छ । वृन्दावन नगरपालिका–१ बलेरीमा अहिले खेतबारीभरि हरियो मकै लहलहाइरहेको दृश्य देख्न सकिन्छ । स्थानीयवासीका अनुसार मकै खेती नै बलेरीको समृद्धिको प्रमुख आधार बनेको छ ।

स्थानीय बैजु पटेल पेशाले शिक्षक भए पनि वर्षेनी डेढ बिगाहादेखि अढाई बिगाहासम्म मकै खेती गर्दै आउनुभएको छ । उहाँ बलेरीका सफल मकै किसानका रुपमा परिचित हुनुहुन्छ ।

वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्र पटेलका अनुसार बलेरीमा मकै खेतीबाट वार्षिक कम्तीमा ९ करोड रुपैयाँ भित्रिने गरेको छ । राम्रो उत्पादन भएको वर्ष एक कट्ठामा छ । क्विन्टलसम्म मकै फल्ने गरेको उहाँले बताउनुभयो । सामान्यतया किसानले प्रतिकट्ठा पाँच क्विन्टलसम्म उत्पादन लिने गरेका छन् ।

माटोको उर्वरता र सिँचाइ सुविधा राम्रो भएकाले स्थानीय किसान मकै खेतीतर्फ आकर्षित भएका हुन् । बलेरीका अधिकांश किसानले मकैलाई मुख्य नगदे बालीका रुपमा अपनाएका छन् ।

स्थानीय किसान रबिन्द्र पटेलका अनुसार वर्षौंदेखि व्यावसायिक रुपमा मकै खेती हुँदै आएकाले बजारको समस्या छैन । मकै बोटमै रहेको अवस्थादेखि मकै पोलेर बेच्ने, घोगा किन्ने तथा खेतमै आएर व्यापारीहरूले खरिद गर्ने गरेका छन् ।

किसान राअशिष राउतले मकै पाकेपछि दाना बिक्री गर्न पनि सहज हुने बताउनुभयो । “खेतमै व्यापारी आउने भएकाले बिक्रीमा कुनै कठिनाइ छैन,” उहाँले भन्नुभयो ।

यद्यपि हावाहुरी, असिनापानी तथा जङ्गली जनावरका कारण किसानले हरेक वर्ष क्षति बेहोर्नुपर्ने अवस्था रहेको स्थानीय नेता शङ्कर राउतले बताउनुभयो । मुख्यरुपमा नीलगाई र बँदेलले मकै बाली नोक्सान पुर्‍याउँदै आएका छन् ।

रौतहटका चन्द्रपुर, वृन्दावन, गुजरा तथा फतुवा विजयपुर नगरपालिकाका उत्तरी क्षेत्रमा समेत व्यापक रुपमा मकै खेती हुँदै आएको छ । किसानहरुले मकै खेतीबाट राम्रो आम्दानी गर्न सकेकाले यसलाई प्राथमिकतामा राख्दै आएका छन् ।

किसानहरुले भने व्यावसायिक खेतीका लागि राज्यबाट पर्याप्त प्रोत्साहन, बीमा तथा क्षति राहतको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button