सांसद हरि पन्त सवार गाडी दुर्घटना, २ जना घाइते
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त सवार गाडी बारा जिल्लामा दुर्घटनामा परेको छ ।
हिजो साँझ वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा.१६ च ८२०६ नम्बरको कार जीतपुर सिमरा–७ स्थित गढीमाई मन्दिर नजिकै विपरीत दिशाबाट आएको मधेश प्रदेश ०३–०३४ प १८७४ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया–७ निवासी २० वर्षीय नवलकिशोर यादव र पछाडि सवार कलैया–१३ निवासी १७ वर्षीय जितेन्द्र यादव घाइते भएका छन् । कार चालक वीरगञ्ज महानगरपालिका–११ निवासी ५२ वर्षीय मोहनलाल राउत रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई सांसद पन्तले आफ्नै गाडीमार्फत सिमरास्थित अस्पतालमा पुर्याउनु भएको थियो । घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अर्का एक जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मोटरसाइकलमा पनि क्षति पुगेको । सांसद पन्त भने सकुशल रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्