तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा चट्याङको कहर-एकै दिन ३९ बाख्रा मरे, ३९ बेपत्ता

बाजुरा I बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ रानीसैन वन क्षेत्रमा परेको चट्याङले ठूलो क्षति पुर्‍याएको छ। बुधबार साँझ करिब वर्षासँगै परेको चट्याङका कारण ३९ बाख्राको मरेका छन् भने ३९ बाख्रा अझै बेपत्ता रहेका छन्।

स्थानीय पशुपालक कृषकहरू वर्षाका बेला बाख्रा चराउँदै राउटे ओडार भन्ने ठाउँमा ओत लागिरहेका थिए। त्यही समयमा अचानक चट्याङ पर्दा ठूलो सङ्ख्यामा चौपायामा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी हवल्दार हेमबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर प्रारम्भिक विवरण सङ्कलन गरेको छ। जसअनुसार स्थानीय सज्जन कडाराका ११ बाख्रा मरेका, र १५ बाख्रा बेपत्ता,भएका छन् भने जसबिर रावलका २८ बाख्रा मरेका, र २४ बाख्रा बेपत्ता भएका छन्। यस घटनामा मानवीय क्षति भने नभएको प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

चट्याङका कारण भेडा–बाख्रा पालनमा निर्भर स्थानीय किसानहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।

जीविकोपार्जनको मुख्य स्रोतका रुपमा रहेका भेडा बाख्रा चट्याङले सखाप पारेपछी स्थानीय पिडित किसानहरुले सरकार बाट राहत तथा क्षतिपूर्ति व्यवस्थापनको माग समेत गर्नुभएको छ।यस अघि मङ्गलवार मात्र जिल्लाको जगन्नाथ गाउँपालिका स्थित मल्लो हुनीमा चट्याङकै कारण १६ भेडा मरेका थिए भने ३८ बाख्रा अझै बेपत्ता रहेका छन्। प्राकृतिक विपद्का यस्ता घटनाले ग्रामीण जीविकोपार्जनमा गम्भीर असर पार्ने देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button