बाजुरामा स्याउ खेती आम्दानीको मुख्य स्रोत बन्दै, कृषकको आकर्षण बढ्दो
बाजुरा । जिल्लामा एक समय बजार नपाएर बारीमै कुहिने स्याउ अहिले किसानका लागि आम्दानीको प्रमुख स्रोत बन्न थालेको छ । सडक सञ्जाल विस्तार र बजार पहुँच सहज भएपछि स्याउ खेतीप्रति कृषकहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ ।
बुढीनन्दा नगरपालिका–८ का कृषक चक्रबहादुर कठायतका अनुसार पहिले सडक नहुँदा उत्पादन भएको स्याउ बिक्री हुन नसक्दा गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था थियो । तर अहिले गाउँ–गाउँमा सडक पुगेपछि उत्पादन सहजै बजारसम्म पुग्न थालेको छ र जीविकोपार्जनमा सुधार आएको छ ।
जिल्लाको हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगंगा र खप्तड छेडेदह लगायतका लेकाली क्षेत्रमा स्याउ खेती विस्तार भइरहेको छ । विशेषगरी बुढीनन्दा नगरपालिका–९ र १० को पाण्डुसैन क्षेत्रमा बढी उत्पादन हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार हाल जिल्लामा करिब १ सय ७० हेक्टर क्षेत्रमा स्याउ खेती भइरहेको छ । ढुवानी अनुदान र बजार पहुँच बढेसँगै किसानहरू थप उत्साहित बनेका छन् ।
यहाँ लोकल जातका साथै फुजी, गाला र गोल्डेन जातका स्याउ पनि उत्पादन हुन थालेका छन् । गत वर्ष करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन भएकोमध्ये झण्डै ६ सय मेट्रिक टन बाहिरी जिल्लामा बिक्री गरिएको थियो ।
सडक, ढुवानी सुविधा र बजार विस्तारसँगै बाजुराको स्याउ खेती ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्