तपाईँ सुन्दै हुनुहुन्छः

ट्रयाक खुलेको साँढे दुई दशकमा पनि सहिद मार्ग स्तरोन्नति भएन

बागलुङ । बागलुङको तारा खोलालाई जोड्ने गरि निर्माण भएको सहिद मार्ग स्तरोन्नति नहुँदा स्थानीय लाई सास्ती भएको छ ।

ट्रयाक खुलेको करिब साँढे दुई दशक भएको सडक स्तरोन्नति हुन नसक्दा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको हो । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरि खुलेको सडक अहिलेसम्म स्तरोन्नति नहुँदा सामान ढुवानी र यात्रा गर्न समस्या भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकदेखि ताराखोला गाउँपालिकाको केन्द्र भात खाने डाँडासम्म जोडिएको सडक साँघुरो र अप्ठ्यारो भएका कारण यात्रामा कठिनाइ भएको ताराखोला गाउँपालिका–२ का तमबहादुर रोका मगरले बताउनुभयो । 

वि.सं. २०५७ देखि २०६० सम्म जनश्रमदानबाट निर्माण गरिएको सडक अव्यवस्थित रहेकाले गाउँमा कोही बिरामी परे तत्काल अस्पताल ल्याउन बढी समस्या हुने गरेको उहाँको भनाई थियो । वर्षौँ अगाडि दुःख गरेर कोदालो, गैटीँ र बेल्चाको प्रयोगले निर्माण गरिएको सडक अहिले ठूला ठूलो मेसिन चल्दा पनि स्तरोन्नति हुन नसक्नु दुःखद भएको उहाँले बताउनुभयो । सहिदका नाममा बनेको सडक यतिका वर्षसम्म व्यवस्थित नबन्दा उनीहरू प्रतिको अपमान भएको उहाँले बताउनुभयो । 

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले यो सडक स्तरोन्नतिका लागि ठूलो बजेट लाग्ने तर गाउँपालिकामा सीमित बजेट हुने हुँदा काम गर्न नसकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button