तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य कम्पनीद्वारा कैलालीको टीकापुरमा गहुँ खरिद शुरु

कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । 

कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यस अघि मङ्गलवारदेखि धनगढीको मोहनपुरबाट गहुँ खरिद शुरु गरिसकेको छ । 

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईँले जानकारी दिनुभयो । सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ९४५ रुपैयाँ रहेकामा खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ४ हजार २५० रुपैयाँमा गहुँ खरिद गर्न लागेको बजगाईँले बताउनुभयो ।

यसरी समर्थन मूल्य भन्दा बढी रुपैयाँमा गहुँ बेच्न पाएकोमा किसानहरु पनि खुसी भएका छन् । गहुँ बेच्न खाद्य गोदाम टीकापुर पुग्नु भएका टीकापुरका योगेन्द्र साउँदले अन्य ठाउँको भन्दा खाद्यमा गहुँ बेच्दा मूल्य बढी पाएकोमा आफू खुसी भएको बताउनुभयो । 

योगेन्द्र साउँद जस्तै जोशीपुर गाउँपालिका वडा ६ महादेवाका क्रिमलाल डंगौरा पनि खाद्यमा गहुँ बेच्न पाउँदा धेरै खुसी हुनुहुन्छ । खाद्य कम्पनीको टीकापुरबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ । प्रतिकिसानबाट बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट प्रति सहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना खाद्य कम्पनीले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button