खुकुरी कपको उपाधि तिरुपतिलाई
रुपन्देही । रुपन्देहीको भैरहवामा मङ्गलवार सम्पन्न ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ को उपाधि तिरुपति स्पोटर्स क्लबले जितेको छ ।

मङ्गलवार सम्पन्न फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ११ रनले हराउँदै तिरुपतिले उपाधि चुम्न सफल भएको हो । उपाधिसँगै तिरुपतिले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन बनायो । उसका लागि शार्दूल त्रिपाठीले ३२, आकाश त्रिपाठीले ३०, सन्दीप मौर्यले २१, इमरान शेख र मोम्मद हुसेन गद्दीले १३–१३ तथा नरेन साउदले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका अनुराग यादव, बैतुल्लाह खान, प्रशान्त श्रीवास्तव र अजय चौहानले समान २–२ तथा अकलेश यादव र दुर्गेश गुप्ताले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्रै बनायो र उपाधि जित्नबाट चुक्यो । उसका लागि प्रशान्त श्रीवास्तवले ४८, समीर अली मुसलमानले ३० र अकलेश यादवले १७ रन बनाए । बलिङमा तिरुपतिका मोहम्मद हुसेनले ४, आकाश त्रिपाठीले ३ र शार्दूल त्रिपाठीले २ विकेट हात पारे । खेलमा आकाश त्रिपाठी म्यान अफ द फाइनल भई एक हजार ५ सय रुपैयाँ हात पारे ।
प्रतियोगितामा तिरुपतिका आकाश त्रिपाठी म्यान अफ द सिरिज भई १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, न्यु होराइजन क्रिकेट क्लबका अमर मिश्रा उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनी खुकुरीका बैतुल्लाह खान उत्कृष्ट बलर भए । उनीहरूले जनही ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
विजेता र उपविजेता टिमलाई आयोजक संस्था लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, व्यवसायी अमितकुमार गुप्ता, सिद्धार्थनगर–१ का वडाध्यक्ष उज्ज्वल पोखरेल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका पूर्व अध्यक्ष प्रशान्त विक्रम मल्ल, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्मा, खेल संयोजक नन्दन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्