सडक सुधारमा ध्यान दिन मुख्यमन्त्रीको आग्रह
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए-नेपाल) ले मङ्गलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भालुबाङदेखि लमहीसम्म सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गर्नुभयो । उहाँले फराकिलो सडक, व्यवस्थित बस स्टेसन र सुरक्षित सडक पेटी निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने तथा प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो ।
एमसिए(नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले संस्थाले विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार धानखोला-लमही ४ किलोमिटर सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति कार्य अगाडि बढाइएको छ ।
एमसिए-नेपालका अनुसार उक्त सडक खण्डको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ भने निर्माण कम्पनीलाई कार्यस्थलमा परिचालन गरिसकिएको छ । वातावरणीय, सामाजिक, स्वास्थ्य तथा सुरक्षण व्यवस्थापन योजना स्वीकृतिको प्रक्रियामा रहेको र स्वीकृति पश्चात् निर्माण कार्यले गति लिने जनाइएको छ ।
यसैबीच, २०८३ साल वैशाख १६ गते धानखोला-लमही सडक स्तरोन्नति कार्यको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्