तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय बक्सिङ तथा यू–१९ अन्तर विद्यालय स्तरीय बक्सिङ प्रतियोगिता हुने

पोखरा । गण्डकी प्रदेश बक्सिङ सङ्घले प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता तथा यू–१९ अन्तर विद्यालय स्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा आज (मङ्गलबार) सम्पन्न सङ्घको दोस्रो साधारण सभाले यस्तो निर्णय गरेको हो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश स्तरीय छनोट प्रतियोगिता आयोजना गरिने संघ गण्डकीका अध्यक्ष विद्या प्रसाद मर्सानीले बताउनुभयो । 

कार्यक्रमको उद्घाटन गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले नेपालमा बक्सिङ खेलमा उल्लेख्य पदक जित्ने सम्भावना रहेको औँल्याउनुभयो । उहाँले सेनापति कपअन्तर्गतको बक्सिङ प्रतियोगिता यस वर्ष पनि पोखरामा आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रदेश खेलकुद परिषद्का सदस्य तथा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरामा बढ्दो खेलकुद गतिविधिले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने बताउनुभयो। 

नेपाल बक्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष गणेशबहादुर भट्टराईले खेलाडीहरूलाई भविष्यप्रति आश्वस्त बनाउन स्पष्ट र दीर्घकालीन खेलकुद नीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष विद्या मर्सानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष नरेशबहादुर भट्टराईले पोखरामा बक्सिङ खेलको विकास र प्रवर्द्धनका लागि विविध कार्यक्रम ल्याइने योजना रहेको बताउनुभयो । 

यसैबीच, गण्डकी प्रदेश बक्सिङ सङ्घको कार्यसमितिमा केही हेरफेर गरिएको छ । यसअघि सचिव रहेका भरत पराजुलीलाई महासचिवमा पदोन्नति गरिएको छ भने सुदिप ढकाललाई नयाँ सचिव चयन गरिएको छ । अन्य सदस्यमा दिलीपकुमार श्रेष्ठ (कास्की), विरेन्द्र कार्की (नवलपुर) राजकुमार श्रेष्ठ (कास्की) र दीननाथ बरालसहित चार जना नयाँ सदस्य मनोनयन गरिएको सङ्घले जनाएको छ ।

उक्त अवसरमा कास्कीका खेल पत्रकार केशव पाठक र बक्सिङ खेलका प्रशिक्षक लोक बहादुर गुरुङलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button