तपाईँ सुन्दै हुनुहुन्छः

जिउँदो व्यक्तिको मृत्यु दर्ता प्रकरण : सुस्ताका वडाध्यक्ष सहित ४ जना पक्राउ

नवलपरासी (पश्चिम) । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गराएको गम्भीर आरोपमा सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव संजय कुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि खोजी कार्य तीव्र पारिएको छ।

यसअघि झुटा विवरण पेश गरी मृत्यु दर्ता गराउने मुख्य आरोपित, नारायणी पारि सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा अन्सारीले आफ्नै पिताको मृत्यु भएको भन्दै वडा नम्बर ५ मा अर्कै ६६ वर्षीय आफन्तको नाममा गत वर्ष मङ्सिर ७ गते मृत्यु दर्ता गराएको खुलेको छ। तर, अन्सारीका पिताको वास्तविक मृत्यु भने २०६० सालमै भइसकेको तथ्य भेटिएको प्रहरीले जनाएको छ।

घटनाको वास्तविकता थाहा पाएपछि मृत्यु दर्तामा नाम समावेश गरिएका वृद्धका छोराले गत वर्ष चैत्र महिनामा प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको थियो।

मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने साक्षीमा हस्ताक्षर गर्ने अन्य ७ जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो। अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस घटनाले सरकारी अभिलेख प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ भने संलग्नमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button