तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा सञ्चालित होमस्टेको सेवा परिष्कृत हुँदै

विराटनगर । आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेका कोशी प्रदेशका होमस्टेले आफ्नो सेवा परिष्कृत गर्न थालेका छन् । 

पहिले हिँडेर पुग्न पर्ने ठाउँमा अहिले घरघरमा सञ्चालन भएका होमस्टे सम्म यातायातको सहज पहुँच पुग्न थालेपछि पर्यटकलाई लक्षित गर्दै सहरी ढाँचामा होमस्टेले सेवा विस्तार गर्न थालेका हुन । 

सेवा विस्तार भएसँगै परम्परागत काठका घरमा सञ्चालनमा आएका होमस्टेमा पक्की संरचना निमार्ण हुन थालेका छन् । होमस्टेको सेवा समय अनुसार परिमार्जित हुन थालेपछि होमस्टेका घरमा   वातानुकुलित कोठा, ऐटेच बाथरुम, इन्टरनेटको सुविधा, कोठाहरूको डेकुरेशन तथा होमस्टेमा पाइने खानेकुराको स्तरमा समेत वृद्धि हुन थालेको छ । 

पर्यटकहरूको चाहना अनुसार समय अनुसार होमस्टेको सेवा  परिवर्तन भएको होमस्टे महासङ्घका केन्द्रिय उपाध्यक्ष एकराज घिमिरेको भनाई छ । 

उहाँका अनुसार होमस्टे सेवा मात्र नभएर व्यापार पनि भएकाले होमस्टेमा आउने पर्यटकहरूले के चाहन्छन् भन्ने कुरा उनीहरूले सिकाउँदै गएपछि समय अनुसार होमिस्टे सेवा विस्तार गरिएको हो ।

पछिल्लो समय होमस्टेप्रति पर्यटकको आकर्षण बढेसँगै होमस्टेमा आउने पाहुनाहरूका कारण महिलाहरूको आयस्तरमा समेत वृद्धि हुन थालेको छ ।  होमस्टेमा वास बस्न आउने पर्यटकहरूको संख्या बढ्नाले बास बसेबापत आउने पैसाले महिलाहरूलाई आर्थिक रुपमा सक्षम बनाएको इलामको श्री अन्तुमा सञ्चालित श्रीअन्तु होमस्टेका सञ्चालक  गडिया आलेको भनाई छ ।

२०५२ सालदेखि होमस्टे सञ्चालन गर्दै आएको र होमस्टे सञ्चालनमा आएपछि श्रीअन्तुमा बाटोघाटो, बिजुली बत्तीको सुविधा बढ्नुका साथै स्वास्थ्य सेवामा समेत यस क्षेत्रका मानिसको सहज पहुँच पुगेको उहाँको भनाई छ । 

श्रीअन्तुमा ६० देखि ६५ वटा होमस्टे सञ्चालनमा रहेका छन् । श्रीअन्तुमा आन्तरिक तथा बाह्य गरि अढाई लाखको हाराहारीमा पाहुनाहरू आउने गरेका छन् । त्यहाँका अधिकांश होमस्टे महिलाहरूले सञ्चालन गर्दै आएका छन् । जसका कारण होमस्टेबाट आउने पैसाले  महिलालाई आर्थिक रुपमा सक्षम बनाएको छ । होमस्टे सञ्चालनमा आएपछि महिलाहरूले रोजगारी पाएका होमस्टे सञ्चालक गुडिया आलेको भनाई छ । 

यसैगरी श्रीअन्तुका अर्का होमस्टे सञ्चालक दुर्गा तामाङले ४० जना बस्न सक्ने क्षमता रहेको आफ्नो होमस्टेमा नेपाल, भारत तथा साउदीबाट समेत पाहुनाहरू वास बस्न आउने गरेको सुनाउनुभयो । पहिले आर्थिक अवस्था कमजोर हुँदा दुःख थियो तर  विगत आठ वर्षदेखि आफैले होमस्टे सञ्चालन गरेपछि आर्थिक रुपमा सक्षम बनाएको उहाँको भनाई छ । 

मोरङको सुन्दरहरैचाबाट श्रीअन्तु घुम्न आउनुभएको आकाश चौधरीले होमस्टेबाट सबै प्रकारको सेवाबाट सन्तुष्ट भएको बताउनुभयो । 

श्रीअन्तु घुम्न परिवारसहित आउनुभएको  विरगन्ज महानगरपालिका –५ का सुशिल सिंह क्षेत्रीले पनि श्रीअन्तुको होमस्टे दिने सेवा र उनीहरूको व्यवहार सकारात्मक रहेको बताउनुभयो । 

आफ्नो सेवालाई नयाँ ढङ्गबाट सञ्चालन गर्न थालेपछि होटल सरहको सेवा पाउन होमस्टेमा सहज भएको छ ।  समयअनुसार परिवर्तन गर्दै जाँदा कृत्रिम संरचना निर्माणले होमस्टेका मौलिक, संस्कृति तथा प्राकृतिक साैन्दर्यतामा असर पर्ने हो की भन्ने चिन्ता उत्तिकै छ । त्यसकारण होमस्टेको मौलिक संस्कृत, रहनसहन, खानपान र होमस्टको पहिचान जोगाई राख्न तिनै तहको सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button