तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका वन क्षेत्रमा डढेलो फैलिँदै, वन्यजन्तुको बासस्थान जोखिममा

बाँके । बाँके जिल्लाका विभिन्न सामुदायिक तथा चक्ला वन क्षेत्रमा पछिल्लो समय डढेलो फैलिँदै गएको छ, जसले वन्यजन्तुको बासस्थानमा जोखिम बढाएको छ।

डिभिजन वन कार्यालयका अनुसार एक सातायता लागेको डढेलोले करिब चार हजार हेक्टर वन क्षेत्र प्रभावित भइसकेको छ।

योजना अधिकृत सुशील सुवेदीका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन र राप्ती पीडित गुलरी सामुदायिक वनसहित १२ वटा वन क्षेत्रमा आगलागी भएको छ। तीमध्ये धेरै स्थानमा आगो अझै नियन्त्रणमा आएको छैन।

डढेलो नियन्त्रणका प्रयास जारी रहे पनि वनको भित्री भागमा फैलिएको आगो निभाउन कठिन भइरहेको छ। जनशक्ति र स्रोतसाधनको अभावका कारण समयमै आगो नियन्त्रण हुन नसक्दा क्षति बढ्दै गएको सुवेदीले बताउनुभयो।

हाल डढेलो नियन्त्रणका लागि १४ जनाको टोली परिचालन गरिएको छ। सीमित साधनका कारण प्रभावकारी नियन्त्रणमा समस्या देखिएको छ। अहिले प्रयोगमा रहेको दुई हजार लिटर क्षमताको ट्याक्टरमार्फत मुख्यतः राजमार्ग आसपासका क्षेत्रमा मात्र आगो नियन्त्रण गर्न सकिएको छ।

वनको भित्री भागसम्म पुग्न सक्ने दमकलको अभावले नियन्त्रण कार्य थप चुनौतीपूर्ण बनेको छ। साथै खडेरीका कारण वन क्षेत्र सुक्खा बन्दै जाँदा आगो तीव्र रूपमा फैलिने जोखिम बढेको छ। केही दिनभित्र वर्षा नभए डढेलो अझै फैलिन सक्ने चेतावनी दिइएको छ।

जिल्लामा करिब ५० हजार हेक्टर वन क्षेत्र रहेको छ। वन कार्यालयले चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि लापरवाहीका कारण डढेलोका घटना दोहोरिँदै आएका छन्।

डढेलोले जैविक विविधता र स्थानीय बासिन्दाको जीवनयापनमा असर पार्ने देखिएकाले समयमै आवश्यक स्रोतसाधन जुटाई प्रभावकारी नियन्त्रणमा ध्यान दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button