भोलीदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको सम्पुर्ण तयारी पुरा
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवाला निकायलाई बोर्डको अपिल

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सञ्चालन गर्ने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ ) को परीक्षा भोली सोमबारबाट सुरु हुँदैछ ।
कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा सञ्चालन एवं व्यवस्थापनका क्रममा परीक्षा पूर्वका सम्पुर्ण तयारी पुरा भएको बोर्डले जनाएको छ ।
बोर्डका सदस्य सचिव जंग बहादुर अर्यालले परीक्षा पूर्वका सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै परीक्षालाई मर्यादित व्यवस्थित, शान्तिपूर्ण एवं भयरहित तवरले सम्पन्न गर्न गराउन सम्पुर्ण सरोकारवालामा सहयोग र समन्वयका लागि अनुरोध गर्नुभएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुन लागेको जानकारी दिनुभयो ।
गतवर्षको तुलनामा यो बर्ष करिब ९० हजार विद्यार्थी घटेका छन् । गत वर्षसम्म पुरानो कोर्सका विद्यार्थी सहभागी थिए । त्यसले गर्दा विद्यार्थी संख्या बढेको बोर्डको भनाई छ ।
परीक्षा नियन्त्रक शर्माले पुरानो कोर्स अध्ययन गर्ने विद्यार्थीले ३ वर्षसम्म परीक्षा दिने अवसर पाएका तर तीन वर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको बताउनुभयो ।
परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमध्ये १ लाख ७२,०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थीले सहभागी हुदैछन् ।
आंशिकतर्फ ५ हजार ८३० परीक्षार्थीहरू सहभागी हुनेछन् । यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुँदै गरेको बोर्डले जनाएको छ ।
देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ ।
परीक्षा सम्पन्न गर्न १ हजार ४२१ केन्द्राध्यक्ष ,२० हजार ९ सय निरीक्षकलगायत सहायक केन्द्राध्यक्ष, केन्द्रमा खटिने कर्मचारी, कार्यालय सहयोगी, र सुरक्षाकर्मी सहित कुल ४४ हजार २०४ जनशक्ति परिचालन हुने बोर्डले जनाएको छ ।
बैशाख २७ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तालिका यस अघि नै सार्वजनिक भइसकेको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवाला निकायलाई बोर्डले अपिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्