बुटवलमा अतिक्रमित सरकारी जग्गा खाली गराउने प्रक्रिया सुरु

लुम्बिनी I रूपन्देही। बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत अगाडि रहेको अतिक्रमित सरकारी जग्गा खाली गराउने प्रक्रिया सुरु भएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको अनुरोधपछि उपमहानगरपालिकाले संरचना हटाउने तयारी थालेको हो । शनिबार साँझ सार्वजनिक सूचना जारी गरिएपछि स्थानीयले आइतबार बिहानदेखि टहरा खाली गर्न थालेका छन् ।
उक्त जग्गा साविक कित्ता नम्बर ३९६ अन्तर्गत करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा फैलिएको छ । हाल त्यहाँ २६ भन्दा बढी घरटहरा र व्यापारिक संरचना रहेका छन् ।
वडाध्यक्ष नरिश्वर शर्मा पौडेलका अनुसार सो क्षेत्रमा विभिन्न संघसंस्थाका भवन पनि रहेकाले कुन संरचना हटाउने भन्ने विषयमा यकिन गर्ने काम भइरहेको छ ।
सरकारी अभिलेखअनुसार उक्त जग्गा २०४८ सालमा मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन पुनरावेदन अदालत, हालको उच्च अदालतलाई उपलब्ध गराइएको थियो । तर अतिक्रमण हटाउने प्रयास विगतमा सफल हुन सकेको थिएन ।
यसपटक अदालतको पहलपछि उपमहानगरपालिकाले डोजर प्रयोग गरी जग्गा खाली गराउने तयारी गरेको हो । सूचना जारी भएपछि स्थानीयले शनिबार रातिदेखि नै सामान सार्न थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्