चन्द्रगढी महिला गोल्डकप : एपीएफ फाइनलमा
झापा । चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

मेची रङ्गशालामा खेलको ३४ औँ मिनेटमा रश्मिकुमारी घिसिङको गोलमा एपीएफले अग्रता बनायो ।
पहिलो हाफमा १–० ले अगाडि रहेको एपीएफले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा कप्तान अनिता बस्नेतले एपीएफको अग्रता दोब्बर बनाइन् । ६२ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपीएफको जित सुनिश्चित गरिन् । यो खेलमा उनको यो दोस्रो गोल थियो भने जारी प्रतियोगितामा यो छैटौँ गोल हो । उनी सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छिन् ।
खेलको प्लेयर अफ द म्याच एपीएफकी रेनुका नगरकोटी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।
फाइनल खेल बैशाख १४ गते सोमबार हुने आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्