तपाईँ सुन्दै हुनुहुन्छः

गर्भपतन मृत्यु प्रकरण: डा. रुपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस

रुपन्देही । पाल्पाकी २९ वर्षीया गीता पाण्डेयको गर्भपतनका क्रममा भएको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले संलग्न चिकित्सकमाथि कारबाही अघि बढाएको छ । 

काउन्सिलले प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा डा. शतिसकुमार रुपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेयको १३ हप्ताभन्दा बढीको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो । सो घटनापछि काउन्सिलले डा। सम्राट पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

काउन्सिलका रजिष्ट्रार डा। शतिसकुमार देवका अनुसार शनिबार बसेको अनलाइन बैठकले छानबिनको अन्तिम प्रतिवेदन नआएसम्मका लागि रुपाखेतीलाई बिरामी जाँच तथा उपचारमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको हो । ‘चिकित्सकहरूको आचारसंहिता २०१७ अनुसार यस्तो निर्णय गरिएको हो, ताकि अनुसन्धान निष्पक्ष होस् र पुनः यस्ता कमजोरी नदोहोरियोस्’ उहाँले बताउनुभयो ।

छानबिन समितिको सिफारिसअनुसार पाण्डेयको उपचारमा संलग्न जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ । प्रारम्भिक प्रतिवेदनले दुवै संस्थाले आवश्यक अनुमति बिना सेवा प्रवाह गरेको देखाएको छ । इन्दुलेखा क्लिनिकमै डा. रूपाखेतीले गर्भपतन गराएको खुलेको छ ।

काउन्सिलले उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाही सिफारिस गरेको जनाएको छ । साथै, घटनामा फौजदारी अभियोग आकर्षित हुनसक्ने सम्भावना रहेको भन्दै थप अनुसन्धानपछि मात्रै अन्तिम निर्णय हुने काउन्सिलले स्पष्ट पारेको छ । यसका लागि नेपाल प्रहरीको अनुसन्धानलाई समेत आधार बनाइने जनाइएको छ ।

६ सदस्यीय छानबिन समितिले तयार पारेको २६ पृष्ठको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कारबाही, अवैध क्लिनिक बन्द, नियमित अनुगमन कडाइ तथा गैरकानुनी रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता र नियमन गर्ने सुझाव दिएको छ ।

समितिका सदस्य तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेका अनुसार प्रतिवेदनले उपचारको प्राविधिक पक्षदेखि संस्थागत कमजोरीसम्म औँल्याएको छ । उहाँका अनुसार बुटवल क्षेत्रमा धेरै क्लिनिकहरू बिनादर्ता र अनुमति सञ्चालनमा रहेको तथा इजाजतभन्दा बढी सेवा दिइरहेको अवस्था देखिएको छ ।

काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पाले उक्त घटनाले निजी स्वास्थ्य संस्थाहरूको कानुनी अवस्था, सेवा गुणस्तर र नागरिकको स्वास्थ्य अधिकारमाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो । ‘बाहिरबाट सेवा दिइरहेकोजस्तो देखिए पनि भित्र धेरै समस्या छन्’ उहाँले भन्नुभयो, ‘अब नियमित अनुगमन र कडाइ अपरिहार्य छ ।’घटनापछि छानबिनको माग गरेका परिवारजनले गीता पाण्डेको शव बुझेका छन् । नेपाल मेडिकल काउन्सिलले छानविन समिति गठन गरेर अनुसन्धान शुरु गरेपछि परिवारले शव बुझेका हुन् । उनको शुक्रवार पाल्पास्थित राम्दी खोलामा अन्तिम दाहसंस्कार गरिएको पाण्डेका आफन्त पर्सुराज अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button