डेढ करोडको डेरी फर्मले गाउँमै रोजगारी र समृद्धिको ढोका खोल्दै

बाँके । बाँकेको राप्ती सोनारी–२ खोरियामा बिहानको सन्नाटालाई चिर्दै बज्ने घण्टी, गोठतिर लागेका व्यस्त पाइला, अनि दूध दुहुने लय यो दृश्य अब केवल परम्परा होइन, परिवर्तनको सङ्केतको रूपमा देखिएको छ । खोरियाको हरियालीबीच उभिएको “जननी पशुपन्छी पालन फर्म” ले गाउँको अर्थतन्त्रमा नयाँ आशा रोपेको छ ।
पहिले सीमित पशुपालन र परम्परागत खेतीमा अडिएको यो बस्तीमा अहिले डेढ करोडभन्दा बढी लगानीमा आधुनिक डेरी व्यवसाय फस्टाउँदै छ । जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित फर्मले व्यवस्थित गोठ, उन्नत जातका गाईभैँसी र व्यावसायिक व्यवस्थापनमार्फत उत्पादनलाई मात्र होइन, सोचलाई पनि परिवर्तन गरिरहेको छ।
करिब दुई बिघा जमिनमा फैलिएको फर्ममा होलिस्टिन, फ्रिजन र जर्सी जातका गाई, हरियाना भैँसी र अन्य बाच्छाबाछी सहितको पशुधनले अहिले दैनिक करिब ८० लिटर दूध उत्पादन गरिरहेको छ। उत्पादन भएको दूध कचनापुरको साना किसान कृषि सहकारी संस्था डेरी हुँदै बजार पुग्छ भने बाँकी दूध कोहलपुर, नेपालगञ्ज, अगैया, शमशेरगञ्जसम्म फैलिएको छ।
“हामीले उत्पादन मात्र होइन, बजार पनि विस्तार गरिरहेका छौँ,” व्यवस्थापक गणेशबहादुर खत्री भन्छन्, “माग बढ्दै गएको छ, अब आफ्नै डेरी सञ्चालन गर्ने लक्ष्य छ।”
फर्मको अर्को विशेषता भनेको आफ्नै घाँस उत्पादन हो। यसले लागत घटाउनुका साथै व्यवसायलाई दिगो बनाएको छ। पशु आहारामा आत्मनिर्भर बन्नु नै दीर्घकालीन सफलताको आधार भएको खत्रीको भनाइ छ।
यो फर्मले केवल दूध उत्पादन मात्र गरेको छैन, गाउँमै रोजगारी पनि सिर्जना गरेको छ। हाल सात जना स्थानीय यहाँ कार्यरत छन्। पशु स्याहारदेखि गोठ व्यवस्थापनसम्म उनीहरूको दिनचर्या यहीँ बित्छ । गाउँमै काम पाइएपछि युवाहरू बाहिरिनु नपर्ने अवस्था बन्दै गएको स्थानीयहरू बताउँछन्।
पशुपालनका लागि उपयुक्त मानिएको राप्ती सोनारीमा “जननी” जस्ता प्रयासहरूले एउटा सन्देश दिएको छ—सही लगानी, आधुनिक सोच र सहकार्य भए गाउँमै पनि समृद्धि सम्भव छ ।








प्रतिक्रिया राख्नुहोस्