तपाईँ सुन्दै हुनुहुन्छः

रात्रिकालीन सडक दौडलाई ब्राण्डका रूपमा स्थापित गर्न सुझाव

पोखरा । “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने मूल नाराका साथ पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२/०८३ लाई पोखराको दीर्घकालीन पहिचान र ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । 

आज (शनिबार) पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमी परिसरमा आयोजित समीक्षा तथा शुभकामना आदानप्रदान एवं मैत्रीपूर्ण फुटबल कार्यक्रममा सहभागी वक्ताहरूले प्रतियोगितालाई निरन्तरता दिँदै अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिनु भएको छ । 

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पत्रकार तथा सञ्चारकर्मीहरूलाई सिर्जनशील र नवीन कार्यक्रममार्फत शहरको पहिचान निर्माणमा अग्रसर हुन आग्रह गर्नुभयो । आफ्नो वडाको पहिचान झल्किने कार्यक्रमहरूलाई आवश्यक साथ र सहयोग उपलब्ध गराइने उल्लेख गर्दै उहाँले उक्त रात्रिकालीन दौड प्रतियोगिताको निरन्तरताका लागि आगामी आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिने जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले सञ्चार संस्थाहरूको सक्रियतामा यस्ता इभेन्ट आयोजना हुनु सकारात्मक र प्रशंसनीय रहेको उल्लेख गर्दै प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभयो । जिल्ला खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष तिलक क्षेत्रीले यो प्रतियोगिता पोखराका लागि नयाँ सम्भावना बोकेको इभेन्ट भएको बताउँदै आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरी समयमै व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो। सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा आयोजित मैत्रीपूर्ण फुटबल खेलले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो। उहाँले सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक आवद्ध रहेको जानकारी दिँदै सूर्यबहादुर केसी स्मृतिमा केसी परिवारबाट वार्षिक १५ लाख रुपैयाँ सहयोग प्राप्त भइरहेको उल्लेख गर्नुभयो।

सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले यति महत्त्वपूर्ण इभेन्टबारे जानकारी नपाउनु दुःखद भएको बताउँदै यसलाई पोखराको “ड्रिम प्रोजेक्ट” का रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो। प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले सुरुवाती चरणमा ट्राफिक व्यवस्थापन प्रभावकारी रहे पनि केही स्थानमा कमजोरी देखिएको स्वीकार गर्दै आगामी संस्करणमा सुधार गरिने बताउनुभयो।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, पत्रकार शिवराज बस्ताकोटी तथा रोजी श्रेष्ठ लगायतले समापन कार्यक्रम अझ छरितो बनाउन र ट्राफिक व्यवस्थापन थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले प्राप्त सुझावलाई आत्मसात गर्दै आगामी संस्करणलाई अझ परिष्कृत र उत्कृष्ट बनाइने बताउनुभयो। केन्द्रका उपाध्यक्ष असफल गौतमले रातिको समयमा समेत खेल गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन तथा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्पष्ट पार्नुभयो।

यसै अवसरमा पोखरा क्लिकद्वारा प्रकाशन गरिएको नयाँ वर्षको भित्तेपात्रो क्यालेन्डर सार्वजनिक गरिएको थियो। कार्यक्रमअन्तर्गत सहारा एकेडेमीको फुटबल मैदानमा सम्पन्न मैत्रीपूर्ण खेलमा सहारा क्लबले पोखरा क्लिकको टोलीलाई ६–४ गोल अन्तरले पराजित गर्दै जित हात पा¥यो । 

गत चैत २८ गते सम्पन्न उक्त रात्रिकालीन दौड प्रतियोगितामा नेपालसहित पाँच देशका १४५ धावकको सहभागिता रहेको थियो। पोखरा महानगरपालिका वडा नं. ९ को समन्वय तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा सहभागी थिए। साथै, पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५/०२६ प्रतियोगिताका प्रवर्द्धकका रूपमा रहेका थिए । विभिन्न सङ्घसंस्था र सरोकारवालाको सहकार्यमा सम्पन्न यस कार्यक्रमले पोखरालाई खेल पर्यटनको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button