तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि बडिमालिकालाई

बाजुरा । बाजुरा जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले जितेको छ । 

विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै बडीमालिकाले २० स्वर्ण, २० रजत र ११ कास्यसहित कुल ५१ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो। गत वर्ष १५औँ संस्करणको उपाधि पनि जितेको बडीमालिकाले यसपटक पुनः उत्कृष्ट प्रदर्शन दोहोर्‍याउँदै लगातार दोस्रोपटक ट्रफी उचाल्न सफल भएको छ।

प्रतिस्पर्धामा बुढीनन्दा नगरपालिका १८ स्वर्ण, १२ रजत र १७ कास्यसहित ४७ पदक जित्दै दोस्रो स्थानमा रहँदा खप्तड छेडेदह गाउँपालिकाले १५ स्वर्ण, १८ रजत र १७ कास्यसहित ५० पदकका साथ तेस्रो स्थान सुरक्षित गर्‍यो।

अन्य स्थानीय तहहरूमध्ये बुढीगंगा नगरपालिकाले ९ स्वर्ण, ७ रजत र ७ कास्य, गौमुल गाउँपालिकाले २ स्वर्ण, ५ रजत र १४ कास्य, स्वामीकार्तिक खापर गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ५ कास्य, जगन्नाथ गाउँपालिकाले २ स्वर्ण र ३ कास्य तथा हिमाली गाउँपालिकाले ३ कास्य पदक जितेका छन् । 

वैशाख ८ गतेदेखि सदरमुकाम मार्तडी स्थित मालिका माध्यमिक विद्यालयमा सञ्चालन भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो। प्रतियोगितामा विजेता तथा उपविजेता टिम, उत्कृष्ट खेलाडी र सहभागी खेलाडीहरूलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद समिति बाजुराकी अध्यक्ष कोपिला सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button