०७२ को भूकम्पपछि शैलुङमा सरुवा रोग घट्यो, नसर्ने रोग भने बढ्दै
दोलखा । २०७२ सालको विनाशकारी भूकम्पपछि शैलुङ गाउँपालिकामा सरुवा रोगमा कमी आएको छ भने नसर्ने रोग बढ्दै गएको स्थानीय र स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
शैलुङ गाउँपालिका–१ र २ का ताम्चेत, दुधपोखरी र भुषाफेदा जस्ता बस्तीहरू अहिले पहिलेको तुलनामा सुनसान देखिन्छन् । स्थानीयका अनुसार भूकम्पपछि धेरै परिवार रोजगारी र शिक्षाका कारण काठमाडौँ तथा विदेशतर्फ बसाइँ सरेका छन् ।
भुषाफेदाकी ६५ वर्षीया कालिका लामाले भूकम्पपछि गाउँमा स्वास्थ्य चेतना बढेको र सरुवा रोग घटेको अनुभव सुनाइन् । “पहिले झाडापखाला र टिबी धेरै देखिन्थ्यो, अहिले धेरै घटेको छ,” उनले भनिन् । स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीको पहुँच बढेसँगै सरसफाइबारे चेतना फैलिएको उहाँको भनाइ छ।
स्थानीय सोम बहादुर श्रेष्ठका अनुसार पनि अहिले झाडापखाला जस्ता सरुवा रोग घटे पनि क्यान्सर, सुगर, प्रेसर र मिर्गौला जस्ता नसर्ने रोग भने बढेका छन् ।शैलुङ–१ का खड्ग बहादुर मोक्तानले स्वास्थ्य संरचना सुधार भएपछि पहिले जस्तो सरुवा रोग देखिन छोडेको बताउनुभयो ।
शैलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीका अनुसार भूकम्प अघि सरुवा र नसर्ने रोग लगभग बराबरी अवस्थामा थिए भने अहिले सरुवा रोग करिब ३० प्रतिशतमा झरेको छ र नसर्ने रोग करिब ७० प्रतिशत पुगेको छ । उहाँका अनुसार स्वास्थ्य सचेतना, सेवा विस्तार र दक्ष जनशक्तिको पहुँचले सरुवा रोग घटाउन सहयोग गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले भूकम्पपछि प्रत्येक वडामा स्वास्थ्य संस्था र सेवा विस्तार भएको बताउनुभयो । तर अस्वस्थ खानपान र विषादीयुक्त कृषि उत्पादनका कारण नसर्ने रोग बढ्दै गएको उहाँले बताउनुभयो । उनले विषादी प्रयोग नियन्त्रणमा पालिकाले कडाइ गर्दै आएको पनि जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्